सर्लाहीमा कोरोना संक्रमितको संख्या चार सय नाघ्यो, आज २७ जना थपिए

10

मलंगवा – सर्लाहीमा कोरोना भाईरस (कोभिड–१९) का संक्रमितको संख्या चार सय नाघेको छ । जिल्लामा आज वुधवार २७ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या ४ सय १३ पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले केही दिनअघि स्वाब परीक्षणका लागि पठाइएकोमध्ये आज रामनगर गाउँपालिकाका १० जना, चन्द्रनगर गाउँपालिकाका १० जना, कविलासी नगरपालिकाका ५ जना र कौडेना गाउँपालिकाका २ जनामा संंक्रमण पाइएको जानकारी दिए । सर्लाहीका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये अब उत्तरी भेगको लालबन्दी नगरपालिकामा मात्रै संक्रमित भेटिएका छैनन् ।

दक्षिण–पूर्वी भेगको चन्द्रनगर गाउँपालिकामा पनि वुधवार पहिलो पटक संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढ्दै गएपछि पालिकाहरुले उनीहरुलाई आ–आफ्नै क्षेत्रमा अहिलेसम्म जसोतसो आइसोलेटेड गरेर राखिरहेका छन् ।


दिनहुँ संक्रमित थपिँदै जाँदा भने बेग्लै राखेर सरसफाई, खानपिन र सुत्नेबस्ने ठाउँको प्रवन्ध गर्न अप्ठेरो परिरहेको पालिका प्रमुखहरुको गुनासो छ । यसैगरी पीसीआर परीक्षण रिपोर्ट आउन ढिलाई हुँदा क्वारेन्टाइनमा बसिरहेकाहरुलाई सम्हालेर राख्न पनि गाह्रो परिरहेको छ ।