सिडिओमार्फत संयुक्त दलित न्यायिक संघर्ष समितिको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

10
ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेका दलित अधिकारकर्मीहरु ।

मलंगवा – विभिन्न ८ बुँदे माग राख्दै संयुक्त दलित न्यायिक संघर्ष समिति सर्लाहीले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख मोहनबहादुर जिसीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाइएको समितिका संयोजक राजाराम पासवानले जानकारी दिए । ज्ञापन पत्रमा रुकुम पश्चिम घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न, घटनामा जो दोषी भएपनि हिरासतमा लिएर कारवाही अघि बढाउन, मृतकका परिवार र घटनाका घाईतेहरुलाई उचित ढंगबाट निःशुल्क औषधि उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न, जातिय छुवाछुत सम्वन्धि ऐन, कानुन विभिन्न अतराष्ट्रिय सम्झौताहरु यथाशीघ्र कार्यान्वयन गराउन पनि माग गरेको छ ।

रुकुम पश्चिममा नवराज विक लगायत ६ जनाको हत्या भएपछि सर्लाहीसहित देशभरका दलित अधिकारकर्मीहरुले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।