हरिवनमा एकजनाको आरडीटी पोजेटिभ, २२ जनाको पीसीआर नेगेटिभ

5

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाको क्वारेन्टिनमा राखिएका एकजनाको आरडीटी पोजेटिभ आएको छ ।

आज (सोमबार) दिउँसो नगरपालिकाको क्वारेन्टिनमा राखिएका १४ जना तथा स्थानीय १४ जना स्थानीयको आरडीटी गर्दा एकजनाको पोजेटिभ रिपोर्ट आएको हो । भारतको दिल्लीबाट आजै (सोमबार) आएका हरिवन नगरपालिका–२, अत्रौलीका एक ४० वर्षीय पुरुषको आरडीटी पोजेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ती पुरुषलाई नगरपालिकाकै भवनमा छुट्टै कोठामा एक्लै बस्ने व्यवस्था मिलाईएको नगरपालिकाका मेयर गणेश प्रसाईंले जानकारी दिए ।

मेयर प्रसाईंका अनुसार मुलुकभित्रैबाट आफै सवारीसाधन रिजर्भ गरेर आएका एउटै परिवारका ५ जनालाई भने होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाईने तथा आरडीटी पोजेटिभ देखिएका सहित बाहिरबाट आएका ९ जनालाई भने नगरपालिकाकै क्वारेन्टिनमै राखिने मेयर गणेश प्रसाईंले जानकारी दिए । मेयर प्रसाईंका अनुसार आरडीटी पोजेटिभ देखिएका पूरुष सहित नेगेटिभ देखिएका बाहिरबाट आएका सबै १४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि आजै (सोमबार) काठमाडौं पठाईने छ ।

त्यस्तै भारतबाट आई क्वारेन्टिनमा बसेका मध्ये हरिवन नगरपालिकाका २२ जनाको थ्रोट स्वाब परीक्षण नेगेटिभ आएको छ । गत जेट १८ गते जनकपुर पठाईएको र त्यहाँबाट पुनः काठमाडौं पठाईएको २९ जनाको स्वाब मध्ये २२ जनाको नेगेटिभ रिपोर्ट आएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शशिकान्त सिंहले जानकारी दिए । ७ जनाको स्वाब भने परीक्षण हुनै बाँकी रहेको र केही दिनभित्रै सम्पन्न हुने बताईएको छ । ती २९ जनालाई १४ दिन क्वारेन्टिनमा राखेपछि आरडीटी गर्दा नेगेटिभ देखिएकाले स्वाब संकलन गरी नगरपालिकाले यसअघि नै होम क्वारेन्टिनमा पठाईसकेको छ ।