भक्तिपुर र गौरीशंकर बर्थिङ सेन्टरलाई स्वास्थ्य उपकरण प्रदान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित भक्तिपुर र गौरीशंकरमा रहेका बर्थिङ सेन्टरलाई स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।

सेभ द चिड्रेनको सहयोगमा ती दुई बर्थिङ सेन्टरलाई प्रसुति गराउन आवश्यक पर्ने लगायत १६ प्रकारका उपकरण प्रदान गरिएको ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसले जानकारी दिए । संस्थाका सचिव सूर्य चालिसेमार्फत बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीहरुलाई सामग्री हस्तान्तरण गरिएको हो । अहिले कोभिड १९ को कहरपछि जारी बन्दाबन्दीले गर्दा धेरै गर्भवतीहरु घरमै सुत्केरी भइरहेको अवस्थालाई मध्यनजर गर्दै बर्थिङ सेन्टरलाई अझ व्यवस्थित बनाउन स्वास्थ्य उपकरण प्रदान गरिएको संस्थाले जनाएको छ ।

यस्तै ईश्वरपुर नगरपालिकाको क्वारेन्टाइनका लागि सेभ द चिड्रेनकै सहयोगमा विभिन्न किसिमका सामग्री सहयोग गरिएको छ । यसैगरी ग्रामीण नारी उत्थान संघ र एसएनभी नेपालको साझेदारीमा रामनगर, चन्द्रनगर, कौडेना र पर्सा गाउँपालिकामा सञ्चालित दीगो ग्रामीण खानेपानी सुविधा कार्यक्रम परियोजना सञ्चालनका लागि १२ जना कर्मचारीलाई तीन दिने अभिमुखीकरण प्रदान गरिएको छ ।

अभिमुखीकरणमा सहभागीहरुलाई एसएनभीका रतन बुढाथोकी र अम्बिका यादव एवं ग्रामीण नारी उत्थान संघका मदन बर्मा र राजन कर्णले संस्थाको नीति, काम, कर्मचारीको भूमिका लगायतका विषयमा जानकारी प्रदान गरेका थिए ।