सर्लाहीमा आज एकैदिन ७४ जना संक्रमित थपिएको पुष्टी, योसँगै २४९ पुगे

मलंगवा – सर्लाहीमा आज (आईतबार) मात्रै ७४ जना कोरोना भाईरसका संक्रमित थपिएको पुष्टी गरिएको छ । योसँगै सर्लाहीमा २४९ जना संक्रमित पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार आईतबार मात्र सर्लाहीका ७४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताए । । प्रजिअ जिसीका अनुसार आईतबार थप भएकामा गोडैता नगरपालिका ५४, बरहथवा नगरपालिका ७, विष्णु गाउँपालिका ६, बलरा नगरपालिका ५ र पर्सा गाउँपालिकाका २ जना रहेका छन् । आईतबार थप भएका सबै कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिएका व्यक्तिहरु भएको प्रजिअ जिसीले जानकारी दिए ।

त्यस्तै चक्रघट्टा गाउँपालिकामा क्वारेन्टिनमा राखिएका मध्ये १४ जना कोरोना भाईरस पोजेटिभ देखिएको जानकारी आएको गाउँपालिकाका अध्यक्ष विक्रम रायले जानकारी दिए । ‘केहीबेर अघिमात्र जनकपुरबाट १४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको भनेर खबर आएको छ’, अध्यक्ष रायले भने, ‘क्वारेन्टिनमा राखिएका ११६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि जनकपुर पठाएका थियौं, जसमध्ये १४ जनामा पोजेटिभ देखिएको र अरुलाई घर पठाईदिनु भन्ने खबर आएको छ ।’ नेगेटिभ देखिएपनि उनीहरुलाइ घर पठाउने कि नपठाउने भन्नेमा आफूहरु अन्यौलपूर्ण रहेको समेत अध्यक्ष रायले बताए ।

यता प्रजिअ जिसी भने जनकपुरबाट आएको रिपोर्टको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंबाट पुनः एकिन नगरी पुष्टी नहुने बताउँछन् । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्फर्म नगरेसम्म कोरोना भाईरस पोजेटिभ नै भनेर एकिन गर्न सकिन्न’, प्रजिअ जिसीले भने, ‘त्यसैले चक्रघट्टामा थपिएको संक्रमित संख्या अहिले नै पुष्टी गर्न मिल्दैन ।’