लगातार ८ दिन संक्रमित भेटिएका सर्लाहीमा आज भने पोजेटिभ केश शुन्य

3

मलंगवा – जेठ १५ गतेदेखि लगातार दैनिक कोरोना संक्रमित भेटिएका सर्लाहीमा आज (सुक्रवार) भने पोजेटिभ केश शुन्य अर्थात कसैमा पनि संक्रमण पाइएन् ।


सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले आज जिल्लामा एउटा पनि पोजेटिभ केश नपाइएको उज्यालो अभियानलाई जानकारी दिए । उनका अनुसार ईश्वरपुरबाट स्वाब पठाइएकोमध्ये सुक्रवार ६५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।


जिल्लाका अन्य पालिकाहरुबाट पठाइएको स्वाब पनि परीक्षणका क्रममा राष्ट्रिय प्रयोगशाला काठमाण्डौंमा पालोमा नै रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । पालो कुर्नु पर्दा यहाँबाट हप्ता दिन भन्दा अघि संकलन गरेर पठाइएको स्वाबको परीक्षण रिपोर्ट अझै आउन सकेको छैन् । रिपोर्ट आउन ढिला हुँदा क्वारेन्टाइनमा निकै कष्टपूर्ण किसिमले कोचामकोच गरी बस्नु परेको त्यहाँ रहेकाहरुले गुनासो गर्दै आएका छन् ।


सर्लाहीमा अहिलेसम्म १४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीमध्ये धनकौलका एक बालक र बागमतीका एक युवक उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतबाट आउनेहरुको संख्यामा वृद्धि भएपछि जिल्लामा पछिल्ला दिनमा कोरोना संक्रमित थपिँदै गएका छन् ।


पछिल्ला दिनमा थपिएका संक्रमितहरुलाई सम्वन्धित पालिकामै आइसोलेटेड गरी राख्ने काम भइरहेको छ । संक्रमित ह्वात्तै बढेपछि उनीहरुलाई आइसोलेसन वार्ड तयार पारेर खानेबस्नेको व्यवस्थापन गर्नेदेखि चिकित्सकीय निगरानीमा राख्न कठीन भइरहेको छ ।