समाजसेवी मनोज आचार्यद्वारा डिम जनता माविलाई विभिन्न किसिमका सहयोग गर्ने प्रतिवद्धता

परवानीपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रहेको डिम जनता माध्यमिक विद्यालयलाई एक समाजसेवीले विभिन्न किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका समाजसेवी मनोज आचार्यले दिवंगत आमाको नाममा खोलेका आमा अप्सरा आचार्य मेमोरियल फाउण्डेसनको तर्फबाट विद्यालयलाई सहयोग गर्ने उद्घोष गरेका हुन् । वुधवार विद्यालयमा भएको एक कार्यक्रममा आचार्यले विद्यालयमा तीन लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने, दुई थान ल्यापटप प्रदान गर्ने प्रतिवद्धता जनाएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गौतमले जानकारी दिए ।

यस्तै सोही कार्यक्रममा आचार्यले प्रयास बचत तथा ऋण सहकारी संस्था परवानीपुरको व्यवस्थापनमा सञ्चालन हुने गरी एउटा एम्बुलेन्स उपलब्ध गराउने बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी आचार्य, नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्लाहीका इन्चार्ज डाचाराज वाग्ले, जिल्ला सचिव कमल बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व अध्यक्षहरु, नेपाली काँगे्रस लालबन्दी नगरपालिका–१६, का वडा सभापति बमबहादुर बस्नेत लगायतको उपस्थिति थियो ।

समाजसेवी आचार्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले जिल्लाका विभिन्न पालिका तथा अग्रभागमा खटिएकाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री एवं खाद्यान्न सहयोग गर्दै आएका छन् ।