विष्णु गाउँपालिकाको एक प्रहरी चौकीका इन्चार्जसहित चार प्रहरी निलम्बित, जिल्लाबाट नयाँ पठाइयो

5

मलंगवा – सर्लाहीको विष्णु गाउँपालिका–२, मा रहेको प्रहरी चौकी बाराउद्योरणमा इन्चार्जसहित चार जना नयाँ प्रहरी पठाइएको छ ।

लागूऔषध कोरेक्स ओसारपसारमा संलग्न तस्करलाई सघाएको आरोपमा चौकीका इन्चार्ज असई राजाराम ठाकुर, प्रहरी हवल्दार द्वोय विजय साह र चुनरमण चौरसिया तथा प्रहरी जवान अरुण तिवारी निलम्बनमा परेका थिए । बरहथवाका एक जना कोरेक्स कारोवारीसँग त्यहाँका प्रहरीले पैसा लिएको स्रोतले जनाएको छ ।

निलम्बनमा परेकालाई अनुसन्धानका लागि जिल्ला तानेर जिल्ला प्रहरी कार्यालय मलंगवाबाट नयाँ इन्चार्जसहित चार जनालाई बारा उद्योरण पठाइएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले पुष्टी गरे । भारतीय सीमादेखि एक किलोमिटर उत्तरतर्फ रहेको बारा उद्योरण प्रहरी चौकीका पुराना इन्चार्ज समेत संलग्न भई आचरण विपरीतको काम गरेको एक प्रहरी अधिकारीले बताए ।

बाराउद्योरणमा नयाँ इन्चार्जको रुपमा प्रहरी सहायक निरीक्षक असई अजय यादवको नेतृत्वमा चार जना प्रहरी आएका विष्णु गाउँपालिका निवासी सञ्चारकर्मी अकलेश बैठाले जानकारी दिए ।