प्रेमिकाका अभिभावकले लिंगमा चुरोटको आगो झोसेको आरोप

10
पीडित परिवारको दाबी अनुसार राजुको पाखुरामा बलिरहेको चुरोटको ठुटो झोसेर बनेको घाउ । (तस्बिर : टंक/उज्यालो अभियान)
गत सोमबार हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचाररत राजु । (तस्बिर : टंक/उज्यालो अभियान)

टंकबहादुर क्षेत्री/शंकरपुर (सोल्टीबजार) – सर्लाहीको शंकरपुर स्थित सोल्टी बजार उत्तर निवासी एक युवकलाई उनकी प्रेमिकाका परिवारका सदस्यहरुले लिंगमा चुरोटको आगो झोस्ने लगायत मरणासन्न कुटपिट गरेको घाईते युवकका परिवारले आरोप लगाएका छन् ।

बागमती नगरपालिका–१० निवासी २४ वर्षीय राजु महतोलाई नियन्त्रणमा लिएर उनकी प्रेमिकाका परिवारका सदस्यहरुले लिंगमा समेत चुरोटको आगो झोसेर सख्त घाईते बनाएको उनका बुबा शंकर महतोले प्रहरीलाई दिएको किटानी जाहेरीमा उल्लेख छ । ‘मेरो छोरा राजु महतोको ज्यान मार्ने उद्धेश्यबाट कसुरदारहरु मिलेर समाती, हल्ला गर्न र भाग्न उम्कन नपाउने गरी घेरी समाई दपोची घरको ढोका बन्द गरी अमानविय तवरले निर्ममता पूर्वक फलामको रड, लाठी, लात, फाईट समेतले शरिरको यत्रतत्र भागमा मरणासन्न हुने गरी कुटपिट गरी आफ्नो सल्किरहेको चुरोटको ठूटोले हात, खुट्टा शरिर र लिंग समेतमा पोलि दिई सख्त घाईते बनाईएको छ ।’ शंकर महतोले दिएको किटानी जाहेरीमा दाबी गरिएको छ ।

यस्तो छ घटना विवरण

परिवारका सदस्यका अनुसार करिब १०० मिटर दक्षिण आफ्नी प्रेमिकाको घर गत शनिबार राती ११ बजेतिर गएका थिए राजु । २१ वर्षीया प्रेमिकाले पटक पटक फोन गरेर कर गरेपछि राजु राती बाध्य भएर उनको घर गएको उनका दाजु संजय महतोले दाबी गरे । युवतीको घर भने बागमती नगरपालिका–८ मा पर्दछ । ‘पहिला पहिला पनि दुवैजना एक अर्काको घरमा आउनेजाने भईरहन्थ्यो, दुवै परिवार सहित स्थानीय बासिन्दालाई समेत दुईजना बीच प्रेम सम्बन्ध रहेको थाहा थियो’, संजयले उज्यालो अभियानसँग भने, ‘त्यसैले उक्त राती पटक पटक फोन आएपछि राजु बाध्य भएर घर गएको थियो ।’ तर युवतीको घर पुग्ने वितिकै उनका अभिभावकले नियन्त्रणमा लिई मुख समेत थुनेर निर्घात कुटपिट गरेको संजयले दाबी गरे ।

युवतीका बुबा तथा ४ जना दाजु मिलेर झण्डै ३ घण्टा नियन्त्रणमा लिई राजुमाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको परिवारका सदस्यको दाबी छ । ती युवतीलाई शनिबार दिउँसोदेखि अभिभावकले कुटपिट गरेको र राती डर त्रास देखाएर राजुलाई फोन गर्न लगाएको स्थानीय बासिन्दाले समेत दाबी गर्दै आएका छन् ।

‘चिच्याउन नपाओस् भनेर मुख थुनिएकाले कञ्चट लगायत कान छेउ सहित अनुहारको विभिन्न भागको हड्डी समेत फ्याक्चर भएको छ, मुटुको ब्लड सर्कुलेसनमा समेत समस्या देखिएको अस्पतालले बताएको छ’, हाल राजुको उपचारका लागि काठमाडौं स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा रहेका संजयले उज्यालो अभियानसँग दाबी गरे, ‘फलामको रडले निर्घात कुटपिट मात्र हैन भाईको लिंग सहित शरिरका विभिन्न भागमा बलिरहेको चुरोटको ठूटो झोसिएको छ, पैतालामा पनि निकै पीडा भईरहेको देखिन्छ, शरिरका विभिन्न ठाउँमा निलडाम मात्रै देखिन्छ, अहिलेपनि टोलाएर आँखा हेर्ने बाहेक एकशब्द बोल्न सकिरहेको छैन ।’

झण्डै ३ घण्टा नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेपछि उनीहरुले राजघाट स्थित प्रहरी चौकी खाल्टेमा खबर गरेको स्थानीय बासिन्दा बताउँछन् । चोरी गर्न आउँदा आफूहरुले नियन्त्रणमा लिएर कुटपिट गरेको र आवश्यक परे बलात्कार सहित अन्य विभिन्न मुद्धामा फसाउने मनसायका साथ राजुलाई प्रहरीको जिम्मा लगाईएको स्थानीय अगुवा समाजसेवी जबाहर कुशवाहाले दाबी गरे ।

‘पहिला मरणासन्न हुनेगरी कुटपिट गरेपछि प्रहरीलाई बोलाएर जिम्मा लगाईएको छ, राती आएको प्रहरीले समेत स्थानीय बासिन्दासँग थप बुझ्ने भन्दापनि गम्भिर घाईतेलाई तत्काल हत्कडी लगाएर ठूलो अपराधी नै समातेको जसरी दुव्र्यवहार गर्दै चौकीमा लिएर गयो’, कुशवाहाले भने, ‘अभिभावक सहित स्थानीयले तत्काल उपचार गर्न लैजानुपर्छ भनेर अहिलेलाई छाडिदिनुस् भन्दा राजघाटका प्रहरीले अमानविय व्यवहार प्रस्तुत गर्यो, सायद त्यहाँको प्रहरी कुटपिट गर्ने परिवारसँग मिलिभगत हुन सक्ने सबैले अनुमान समेत गरेका छन् ।’

ईलाका प्रहरी कार्यालय बरहथवाले समेत मरणासन्न हुनेगरी कुटपिट भएको तथा गम्भिर घाईते देख्दा देख्दै पीडित परिवारबाट किटानी जाहेरी लिन नमान्नुले पनि उतै मिलेको जस्तो भान भएको स्थानीय बासिन्दा बताउँछन् । किटानी जाहेरी दर्ता गर्नु त कता हो कता, उल्टै प्रहरीले बलात्कार एवं चोरी जस्ता घटनामा फसाईदिने भन्दै धम्की दिएको पीडित परिवारका सदस्यले गुनासो गरे ।

प्रहरीले राजुलाई हत्कडी लगाएर प्रहरी चौकी खाल्टे पु¥याएपछि आफन्त सहित स्थानीय बासिन्दा उही पुगेर जिम्मा मागेका थिए । तर राजुलाई राती नै ईलाका प्रहरी कार्यालय बरहथवा पठाईएको थियो ।

बरहथवा प्रहरीले भने अवस्था गम्भिर देखिएकाले उपचारका लागि आफन्तको जिम्मा लगाईदिएको र राती नै राजुलाई उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज लगिएको कुशवाहाले जानकारी दिए । ‘कोरोना भाईरसको त्रासका कारण होला घाईतेसँगै गएका हाँमी कसैलाई अस्पतालले भित्र पस्न दिएन’, संजयले भने, ‘झण्डै आधाघण्टामा त भाईलाई बाहिर ल्याएर हाम्रो जिम्मा लगाईदियो र विभिन्न परीक्षण लगायतको पैसा लिएर घर जानोस् भनियो ।’

‘हाँमीले त प्रहरी आएर लैजान थालेपछि पो घटनाबारे थाहा पायौं’, घटनास्थल नजिक घर भएका सत्यनाराण महतोले भने, ‘मुख थुनेर निर्घात कुटपिट भएको रहेका अनि कसरी थाहा पाउनु, तथापी प्रहरी आएपछि स्थानीय बासिन्दासँग विस्तृतमा बुझ्नु त कता हो कता गम्भिर घाईतेलाई हतकडी लगाउने जस्ता दुव्र्यवहार हुँदा अत्यन्त दुःख लागेको छ ।’

भरतपुरबाट घर ल्याएपछि झन समस्या देखिएकाले गत सोमबार हरिवन स्थित स्वाभिमान अस्पतालमा सामान्य उपचार पश्चात राजुलाई थप उपचारकालागि गत मंगलबार बिहान काठमाडौं स्थित अन्नपूर्ण अस्पताल लगिएको कुशावाहाले जानकारी दिए ।

स्थानीयबासी एवं सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका डम्बर कार्कीले युवकमाथि अमानविय ढंगले निर्घात कुटपिट भएको बताए । ‘लिंग लगायत शरिरका विभिन्न भागमा चुरोटको आगो झोस्ने लगायत यस्तो क्रुर ढंगले कुटपिट तथा आक्रमण गरेको मैले अहिलेसम्म देखेको छैन’, कार्कीले भने, ‘यस्ता मानवहिन अनि संवेदनाहिन अपराधिक मनोवृत्तिका व्यक्तिलाई तुरुन्त कानूनी कारबाहीको दायरामा ल्याउनु जरुरी छ ।’

के भन्छन् आरोपित परिवार ?

पूर्व वडाध्यक्ष समेत रहेका युवतीका बुवाले अहिले विस्तृतमा केही नबोल्ने बताए । ‘डेढ बजे राती त्यो केटो मेरो घरमा पक्राउ खायो’, घटना के हो त भन्ने प्रश्नमा उज्यालो अभियानसँग टेलिफोनमा उनले भने, ‘म अहिले बाहिर छु, सोँच विचार गरेर पछि विचार दिन्छु ।’

त्यस्तै वडा सदस्य समेत रहेका युवतीका जेठा दाईले भने युवकलाई कुटपिट गरेर प्रहरीको जिम्मा लगाईएको बताए । ‘राती एक बजेको थियो होला, उसलाई बहिनीको कोठामा फेला पा¥यौं, अनि रिस निकै उठेपछि हातपात गरेका हौं’, उनले उज्यालो अभियानसँग टेलिफोनमा भने, ‘यति राती यहाँ किन आएको भनेर पटक–पटक सोध्दा पनि केही नबोलेपछि थप आक्रोश बढ्यो र रिसको झोकमा कुटपिट भएकै हो, थप अनुसन्धानका लागि प्रहरी बोलाएर राती नै जिम्मा लगाईदिएका हौं ।’ हाल अस्पतालमा उपचार गराईरहेको घाईते युवक ठिक भएर आएपछि उनीसँग समेत सोधपुछ गरेर थप बुझ्न समेत उनले आग्रह गरे । ‘ठिक भएर आएपछि त्यो केटालाई पनि सोध्नुस् न धेरै कुरा थाहा भईहाल्छ नि’, उनको आग्रह थियो ।

मरणासन्न हुनेगरी कुटपिट भएको र गम्भिर घाईते अस्पतालमै उपचाररत रहेको अवस्थामा तीन दिन वितिसक्दा समेत प्रहरीले पीडक विरुद्ध किटानी जाहेरी लिन नमानेपछि बुधबार बिहान स्थानीयबासी आक्रोशित बनेका थिए । बुधबार बिहानैदेखि स्थानीय सोल्टी बजारमा जम्मा भएका थिए । अब कुटपिट गर्ने परिवारको घर तोडफोड सहित ‘सामाजिक कार्बाही’ गर्ने स्थानीय बासिन्दाबीच सहमती बनेको एक स्थानीयले बताए । उक्त सूचना जिल्ला स्थित प्रहरी नेतृत्व समक्ष पुगेपछि घटनास्थलमा ईलाका प्रहरी कार्यालय हरिवनबाट तथा सशस्त्र प्रहरी समेत खटाईएको थियो । घटनास्थलमै रहेका ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद यादवले पीडित परिवारको तर्फबाट त्यहिँ जाहेरी लिएर दिउँसो दर्ता हुने आश्वासन दिएपछि आक्रोशित स्थानीय शान्त बनेका थिए ।

पीडकलाई कारबाहीको माग राखेर बुधबार बिहान सोल्टी बजारमा जम्मा भएका आक्रोशित स्थानीय बासिन्दा ।
(तस्बिर : घनश्याम बलम्पाकी/उज्यालो अभियान)

प्रहरी निरीक्षक यादवले ज्यान मार्ने उद्योग अन्तर्गत किटानी जाहेरी आएको बताए । जाहेरीमा किटान गरिएका मध्ये युवतीका माईला दाईलाई नियन्त्रणमा लिईसकेको उल्लेख गर्दै प्रहरी निरीक्षक यादवले भने, ‘ जाहेरिमा किटानी भएका अन्य अभियुक्तहरुको खोजी कार्य सहित घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको छ ।’