आरडीटी नेगेटिभ युवकको पीसीआर पोजेटिभ आएपछि कविलासीका मेयर सहित सलेमपुरका गाउँले सन्त्रासमा

7

कविलासी – १५ दिन क्वारेन्टिनमा राखेपछि आरडीटी नेगेटिभ आएका कारण ८ दिनअघि घर पठाईएका युवकको स्वाब परीक्षण रिपोर्ट भने पोजेटिभ आउँदा सर्लाहीको सलेमपुर गाउँमा सन्त्रास फैलिएको छ ।

आरडीटी नेगेटिभ देखिएपछि ८ दिन अघि स्वाब निकालेर घर पठाईएका कविलासी नगरपालिका–१० का करिब ३५ वर्षीय युवकको सोमबार पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । ‘१५ दिन क्वारेन्टिनमा राखेपछि आरडीटी नेगेटिभ आएकाले स्वाब संकलन गरेर उनलाई घर पठाईएको थियो’, कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवले भने, ‘तर स्वाब पठाएको ८ दिनपछि पीसीआर नतिजा त पोजेटिभ पो आयो, यसबीचमा ती युवक तथा उनका परिवारका महिलाहरु मेरो घर सहित गाउँभरी काम गर्न हिँडेका छन्, गाउँभरी सन्त्रास फैलिएको छ ।’

आफ्नो घर छेउकै युवक भएकाले उनी तथा उनका परिवारका सदस्यहरु कुराकानी गर्न तथा काममा सरसहयोग गर्न आईरहने गरेको मेयर यादवले बताए । ‘आरडीटी नेगेटिभ आएका कारण घर पठाएपछि उनी गाउँभरी घुम्ने तथा कतिपय घरमा काम गर्न गएका थिए’, मेयर यादवले त्रसित हुँदै भने, ‘अब त म सहित मेरा परिवारका सदस्य अनि गाउँका थुप्रै मानिसहरुको परीक्षण गराउनु पर्ने अवस्था आईप¥यो ।’ सलेमपुर निवासी युवा राजेश यादवले आरडीटी नेगेटिभकै भरमा छाडिएपछि गाउँभरी घुमेका युवकको पीसीआर पोजेटिभ आउँदा गाउँभर त्रास बढेको जानकारी दिए ।

विशेषगरी स्वाब परीक्षणको रिपोर्ट आउन निकै ढिला अर्थात ९ दिनसम्म लाग्दा समस्या बढेको मेयर यादवले गुनासो गरे । कविलासी नगरपालिका–८ अगर्वास्थित जनता माविको क्वरेन्टाइनमा बसेका ६० जनाको स्वाब परीक्षणका लागि जेठ ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । तर स्वाब परीक्षणको रिपोर्ट भने ९ दिनका दिन अर्थात सोमबार आईपुग्यो । जसमा ३६ जनाको कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

‘रिपोर्ट आउन ढिला भएकाले पोजेटिभ देखिएकाहरुसँगै नजिकबाट खानपिन एवं कुराकानी गरिरहेकाले पीसीआरमा नेगेटिभ देखिएकाहरुको पुनः आरडीटी गर्दा थप ५ जनालाई पोजेटिभ देखिएको छ’, मेयर यादवले भने, ‘क्वारेन्टिनमा बसेका ४ र खटिएका एकजना प्रहरीको पीसीआर नेगेटिभ आएपछि आरडीटी गर्दा पोजेटिभ देखिएको छ, उनीहरुको पुनः स्वाब संकलन गरेर परीक्षणका लागि पठाउनु पर्ने भएको छ ।’ हाल ती युवकलाई पुनः अगर्वा स्थित आईसोलेसनको रुपमा तयार पार्ने प्रयास भईरहेको जनता माविको क्वारेन्टिन स्थलमै ल्याएर राखिएको छ ।