कोरोना संक्रमित र गर्भवती एवं सुत्केरीलाई पोषण प्याकेज दिँदै भोर

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन जिसीलाई मंगलबार हस्तान्तरण गरिएको आईसोलेसनमा बसेका संक्रमितका लागि प्रदान गरिने पोषणयुक्त खाद्यसामग्रीको पोका । (तस्बिर : उज्यालो अभियान)

हरिवन – कोरोना भाईरस पोजेटिभ देखिएपछि आईसोलेसनमा बसिरहेका दुई जिल्लाका संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खाद्य सामग्री वितरण गरिएको छ ।

भोर नामक गैर सरकारी संस्थाले मंगलबार सर्लाही र रौतहटका गरी १५० जना संक्रमितका लागि त्यस्तो खाद्य सामग्रीको प्याकेज वितरण गरेको हो । ‘आइसोलेसनमा रहेका कोरोना भाईरस संक्रमितलाई इम्यूनिटी पावर बढाउन ईम्यूनीटी बुस्टर र पोषण सप्लिमेन्ट प्रदानका लागि खाद्य सामग्री उपलब्ध गराईएको छ’, भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले भने, ‘दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरु मार्फत आजै खाद्य सामग्री प्रदान गरि सकिएको छ ।’

सर्लाहीको सदरमुकाम मलंगवा, कविलासी र हरिपुर स्थित आईसोलेसनमा बसिरहेका १०० जना तथा रौतहटको राजपुर वेरिया स्थित आईसोलेसनमा रहेका ५० जना संक्रमितलाई उपलब्ध गराउन दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको महतोले जानकारी दिए । सर्लाहीका प्रजिअ मोहनबहादुर जिसीले आईसोलेसनमा बसिरहेकाहरुको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खाद्य सामग्री प्राप्त भएको जानकारी दिए ।

महतोका अनुसार एकजना संक्रमितका लागि ५०० ग्राम च्यवनप्रास, २ किलो चनाको सातु, १० ओटा कागती, ५० ग्राम अस्तीमधु चूर्ण, ५० ग्राम त्रिफलाचूर्ण, ५० ग्राम अश्वगंधाचूर्ण, तुलसी चियापति व्याग, तथा काजू, किसमिस, छोकड़ा, पेस्ता, बदाम लगायत २५० ग्रामको मिक्स प्याकेट प्रदान गरिएको हो । रोग प्रतिरोधात्मक क्षमता बढाएर छिटोभन्दा छिटो संक्रमितहरुलाई स्वास्थ्यलाभ होस् भन्ने हेतुले पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको महतोले जानकारी दिए । नेकपाका केन्द्रीय सदस्य प्रल्लाद बुढाथोकी, सर्लाही ईन्चार्ज डाचाराज वाग्ले, सर्लाही अध्यक्ष रेवती पन्त लगायतको उपस्थितीमा खाद्य सामग्री प्रजिअ जिसीलाई हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी भोरले मिथिला वाइल्डलाईफ ट्रष्टसँगको सहकार्यमा सर्लाही सहित मुलुकका १५ जिल्लामा दुई हजार २५० विपन्न परिवारका गर्भवती तथा सुत्केरी आमालाई एकीकृत पोषण प्याकेज वितरण सूरु गरेको छ । महतोका अनुसार मंगलबारसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ र ७ का १३३ गर्भवती एवं सुत्केरी महिलालाई उक्त प्याकेज वितरण गरिसकिएको र चन्द्रनगर गाउँपालिकामा ३७५ तथा ईश्वरपुर नगरपालिकाका ७५ गरी जम्मा ४५० महिलालाई त्यस्तो प्याकेज प्रदान गरिने महतोले बताए । ‘शनिबार वडा नं. २ का ९३ तथा मंगलबार ७ का ४० गर्भवती र सुत्केरी महिलालाई प्याकेज वितरण गरिसकिएको छ’, महतोले भने, ‘ईश्वरपरका ७५ र चन्द्रनगरका ३७५ गरी ४५० जनालार्य प्याकेज वितरण गर्ने छौं ।’

गर्भवती महिला, सुत्केरी तथा स्तनपान गराउने आमा, पांच वर्षमुनिका बालिबालिका तथा किशोरीलाई कुपोषणको महामारी तथा कोरोना भाईरसको महामारीबाट हुन सक्ने सम्भावित मृत्यबाट बचाउँनका लागि पोषण प्याकेज वितरण गरिएको संस्थाका अध्यक्ष महतोले जानकारी दिए । पोषण प्याकेजमा प्रति गर्भवती एवं सुत्केरी महिलालाई २० किलो चामल, १ किलो दाल, आधा लिटर खानेतेल, आधा किलो सोयाबिन, ३ किलो हरियो तरकारी, १ किलो आयोडिनयुक्त नुन, १ किलो गेडागुडी, १५ वटा अण्डा र स्थानीय स्तरमा उपलब्ध हुने केरा, काँक्रो लगायत फलफुल वितरण गरिएको मिथिला वाइल्डलाइफ ट्रस्टका प्रमुख देव नारायण मण्डलले जानकारी दिए ।

पोषण प्याकेज पाएपछि गर्भवती एवं सुत्केरी महिलाहरुले अत्यन्त खुशी व्यक्त गरेको संस्थाका कोषाध्यक्ष उमेशकुमार साहले जानकारी दिए । साहकै संयोजनमा प्याकेज वितरण भईरहेको संस्थाले जनाएको छ ।