कविलासीका कोरोना संक्रमित घण्टौंदेखि क्वारेन्टाइनमै, त्यहीँ आइसोलेसन बनाउने तयारी

6

कविलासी – सर्लाहीको कविलासीमा सोमवार कोरोना संक्रमण पुष्टी भएका मानिसहरुलाई उपचार गर्ने आइसोलेसन वार्डको अभाव भएको छ ।
पालिकाको आफ्नै आइसोलेसन वार्ड नहुँदा मंगलवार बिहानसम्म संक्रमितहरुलाई क्वारेन्टाइनमै राखिएको छ । भातरबाट आएर कविलासीस्थित अगर्वा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका ३६ जनामा हिजो एकैसाथ कोरोना संक्रमण पाइएको थियो । सोमवार साँझ आरडीटी गर्दा थप पाँच जनाको एन्टीबन्डी पोजेटिभ आएको छ ।
आइसोलेसन वार्ड नहुँदा संक्रमितलाई जहीँको त्यही राखिएको र अब के गर्ने भन्ने अन्यौल रहेको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवले बताए । तत्कालै आइसोलेसन बनाउन नगरपालिकासँग ठूलो खाले खाली भवन नरहेको र स्वास्थ्यकर्मीको पनि अभाव रहेको मेयर यादवले उज्यालो अभियानसँग गुनासो गरे । कविलासीमा हिजो देखा परेका संक्रमितमध्ये क्वारेन्टाइनमा बसिरहेकाहरुलाई खाना बनाएर खुवाउने एक जना भान्से समेत छन् ।
यता सोमवार थपिएका हरिपुरका दुई जना संक्रमितलाई भने फरहदवास्थित नवनिर्मित स्वास्थ्य चौकीको भवनमा बनाइएको आइसोलेसनमा राखिसकिएको छ । हरिपुर बजारस्थित महावीर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइन र लक्ष्मीपुर कोद्राहस्थित क्वारेन्टाइनमा रहेका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कविलासीका कोरोना संक्रमितलाई क्वारेन्टाइन रहेको विद्यालयलाई नै आइसोलेसन वार्ड बनाएर राख्ने तयारी भइरहेको बताए । मंगलवार बिहान उज्यालो अभियानसँग कुरा गर्दै सिडिओ जिसीले संक्रमित बढ्दै गएकाले अब पालिकाहरुले आ–आफ्ना स्थानका संक्रमितलाई स्थानीय स्तरमै आइसोलेसन वार्ड तयार पारेर राख्नु पर्ने अवस्था रहेको बताए ।