बागवानी केन्द्र नवलपुरको आँप र लिची ठेक्का लाग्यो

25

नवलपुर – देशकै सबै भन्दा ठूलो सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरको आँप र लिची आइतवार एकैसाथ ठेक्का लागेको छ ।
आँप यस वर्ष १० लाख १४ हजार ५ सय ५१ रुपैँया र लिची ७ लाख ९४ हजार रुपैँयामा ठेक्का लागेको हो । बागवानीको आँप गत वर्ष ठेक्का लाग्न सकेको थिएन् भने लिची १५ लाख रुपैयाँमा ठेक्का लागेको थियो । लिची बिक्रीका लागि १४ लाख रुपैँयामा प्रथम पटक सूचना निकालिए पनि ठेक्का लाग्न सकेन् ।
दोस्रो पटक आधा मूल्य घटाएर टेन्डर निकाल्दा भने ठेक्का लागेको हो । आँप भने प्रथम पटक १५ दिने सुचना निकाल्दा नै ठेक्का लागेको केन्द्रका बागवानी विकास अधिकृत कौशलकिशोर यादवले जानकारी दिए । उनका अनुसार आँप लालबन्दी नगरपालिका–२, को बाबा सल्हेश निर्माण सेवा र लिची पिपरीया ६ का विनोद साहले ठेक्का लिनु भएको हो ।
लकडाउनका कारण यस वर्ष बजार अभावमा बागवानीका आँप र लिची ठेक्का लाग्नै मुस्किल पर्ने अनुमान गरिएको थियो । तर कम मूल्यमा भएपनि आज एकैसाथ यि दुवैको ठेक्का लागेको हो । जिल्लाका अन्य किसानले उत्पादन गरेको आँप तथा लिची पनि बिक्री गर्न समस्या भइरहेको गुनासो गरेका छन् ।