सर्लाहीको गोडैतामा भारतबाट आएका २९१ जनाको स्वाब संकलन, परीक्षण गर्न टेकु पठाइयो

9
क्वारेन्टाइनमा अनुगमन गर्दै गोडैताका जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोली । तस्बिर : उज्यालो अभियान

गोडैता – भारतसँग सीमा जोडिएको सर्लाहीको गोडैता नगरपालिकामा २९१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।
भर्खरै भारतबाट आएर नगरपालिकाको विभिन्न स्थानका क्वारेन्टाइनमा बसिरहेकाहरुको स्वाब संकलन गरिएको गोडैता नगरपालिकाको स्वास्थ्य शाखाका उप–संयोजक सन्तोष पण्डितले जानकारी दिए । संकलन गरिएको स्वाब परीक्षणका लागि बिहिवार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं पठाइएको छ ।
गोडैता नगरपालिकामा विभिन्न क्वारेन्टाइनमा अहिले ३ सय बढीलाई राखिएको छ । नगरको गोडैता, बगदह, सीमरा भगवतीपुर, सिसौटिया, रामवन लगायत स्थानका १२ वटा क्वारेन्टाइनमा बसिरहेका उनीहरुलाई व्यवस्थापन गरी राख्न हम्मेहम्मे परिरहेको मेयर देवेन्द्र यादवले बताए ।
मेयर यादवका अनुसार एक÷दुई दिन अघि मात्रै आएकाको भने स्वाब लिइएको छैन् । उनीहरुको केही दिनपछि पुनः परीक्षण गरिने उनले बताउनुभयो । गोडैता नगरपालिकामा अहिलेसम्म २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
सीमावर्ती पालिकाहरुमा अहिले भारतबाट आउनेहरुको संख्यामा वृद्धि भएसँगै संक्रमितको संख्या बढिरहेको छ ।