हरिवनमा कोरोना रोकथामका लागि अग्रभागमा खटिएकाको निःशुल्क आरडीटी

3

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएकाहरुको निःशुल्क ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडीटी) गर्न सुरु गरेको छ ।
नगरपालिकाले आफ्नै खर्चमा महामारी नियन्त्रणमा अग्रभाग (फ्रन्टलाईन) मा खटिएकाहरु तथा लकडाउनमा अत्यावश्यक सेवा प्रवाह गरिरहेकाहरुको आरडीटी परीक्षण गर्न सुरु गरेको हो । त्यसक्रममा सुक्रवार जनप्रतिनिधि, बैंकका कर्मचारी, उद्योग वाणिज्य संघका पदाधिकारी र सुरक्षाकर्मी गरी ९३ जनाको आरडीटी गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको नगरप्रमुख गणेशप्रसाद प्रसाईले जानकारी दिए ।
उनका अनुसार अब क्रमैसँग बाँकी जनप्रतिनिधि, बैंकका कर्मचारी, औषधि पसल सञ्चालक, भेटेरिनरी तथा किटनाशक औषधिको बिक्री गर्ने लगायतको आरडीटी गरिने छ ।

यसैबीच हरिवन नगरपालिकाको वडा नं. ११ बासाटोलस्थित नगरपालिकाको नवनिर्मित भवनमा बनाइएको क्वारेन्टाइनमा रहेका २५ जनामध्ये सुक्रवार ८ जनालाई घर पठाइएको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार क्वारेन्टाइनको बसाई पूरा गरेका र दुई पटक आरडीटी गर्दा नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर पठाइएको हो ।

हरिवन नगरपालिकामा हालसम्म उदयपुर घरभई नयाँरोडमा डेरा गरी तरकारी बोक्ने गाडीका चालकमा कोेरोना संक्रमण पुष्टी भएको छ । उनको जनकपुरस्थित नर्सिङ्ग कलेजको आइसोलेनमा उपचार भइरहेको छ । उनीसँग सम्पर्कमा आएका परिवारका सदस्य तथा अन्यको यसअघि नै पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।