रुकुममा दलित युवाहरुको हत्याविरुद्ध सर्लाहीमा प्रदर्शन

2

लालबन्दी – अन्तरजातीय विवाहका कारण रुकुमपश्चिमको चौरजहारीमा दलित समुदायका युवाहरुको हत्या गरिएको भन्दै सर्लाहीका दलित अगुवाहरुले प्रदर्शन गरेका छन् ।
सुक्रवार मध्यान्ह पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दीमा लकडाउनकै बीच प्रदर्शन गरिएको हो । जुलुशमा सहभागीहरुले जातिय विभेदका आधारमा जघन्य अपराध भएको भन्दै संलग्न सवैलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् ।
लालबन्दीस्थित डुमडुमे मन्दिरदेखि नगरपालिका कार्यालय अगाडिसम्म जुलुश निकाली पुरोना वाणिज्य बैंक अगाडि भएको कोण सभामा सर्लाहीका दलित अगुवाहरुले मन्तव्य राखेका थिए । उनीहरुले कानुनीरुपमा दण्डनीय र मानवीयरुपमा कलंकित जातिय विभेद गरि दलित युवाहरुको सामूहिक हत्या हुँदा पनि छानविन प्रकृया सुस्त भएको भन्दै आक्रोश पोखेका छन् ।
राजाराम पासवानको सयोजकत्वमा नवराज विश्वकर्मा हत्याविरुद्ध संघर्ष समिति गठन गरि आन्दोलन सुरु गरिएको हो । संघर्ष समितिमा पार्वती विश्वकर्मा सह–संयोजक, मदन विश्वकर्मा सचिवसहित १९ जना सदस्य छन् ।
यसअघि जिल्लाका दलित संघसंगठनहरुले बिहिवार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका थिए ।