मलंगवास्थित कभर्ड हलको क्वारेन्टाइनमा रहेका ७ जनामा कोरोना संक्रमण

मलंगवा – सर्लाहीमा बिहिवार सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्लाहीका ४० जनामा संक्रमण पुष्टी गरेपनि गोडैता नगरपालिका निवासी भनी नाम, ठेगाना उल्लेख गरिएका एक जनाको अझै पहिचान भएको छैन् ।
बिहिवार बिहान थपिएका सबै सात जना संक्रमित जिल्ला सदरमुकाम मलंगवा नगरपालिकाका वासिन्दा हुन् । भारतको मुम्बईबाट भर्खरै आएका सातै जना पुरुषलार्ई मलङ्गवाको कभर्ड हलमा तयार पािरएको क्वारेन्टाइनमा राखिएको थियो । सङ्क्रमण पुष्टी भएपछि उनीहरुलाई त्यहाँबाट सदरमुकाम मलंगवाकै नर्सिङ्ग कलेजको आइसोलेसनमा सारिएको नगरप्रमुख निरसल साहले जानकारी दिए ।
कभर्ड हलको क्वारेन्टाइनमा रहेका ३३ जनाको यही जेठ ९ गते स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएको थियो । रिपोर्ट नेगेटिभ आएका २६ जनालाई केही दिन होम क्वारेन्टाइनमै बसिदिन आग्रह गरी बिहिवार दिउँसो घर पठाइएको छ ।
सर्लाहीबाट पठाइएको करिव तीन सय जनाको स्वाब राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लाईनमै रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनका अनुसार भीटीएम किटको अभावमा जिल्लामा गत मंगलवारबाट स्वाब संकलनको काम भने ठप्प छ ।
पालिका तथा प्रशासनले थप भीटीएम किटको माग गरिरहेको जनाएका छन् । सदरमुकाम मलंगवा नगरपालिकाले केही सय थान किट ल्याएर आफूलाई केही थान राखी बाँकी अरु पालिकाहरुलाई उपलब्ध गराएको छ ।
भारतमा अलपत्र परेकाहरुलाई धमाधम उद्धार गर्ने कार्य जारी रहेकाले सर्लाहीमा कोरोना संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भारतमा लकडाउन खुकुलो पारिएपछि रेल, भाडाका गाडी र पैदल हिँडेरै नेपाल–भारत सीमासम्म आएका जिल्लाका वासिन्दालाई सम्वन्धित पालिकाहरुले धमाधम उद्धार गरेर आ–आफ्नो क्वारेन्टाइनमा ल्याएर राखिएका छन् ।
कोरोनाको संक्रमण तीव्र रुपमा बढ्दै गइरहेको भारतबाट ठूलो संखयामा यसरी मानिसहरु आइरहँदा क्वारेन्टाइन व्यवस्थापन गरी राख्न गाह्रो परेको छ । भारतबाट आउनासाथ तत्कालै परीक्षण नगराई सबैलाई कोचामकोम गरी राख्दा जोखिम झनै बढेको भन्दै चिन्ता व्यक्त भइरहेका छन् । अझै पनि भारतबाट ठूलो संख्यामा मानिसहरु आइरहेको सूचना प्राप्त भएकाले अब उनीहरुलाई राख्ने ठाउँको अभाव हुन थालेको पालिका प्रमुखहरुले गुनासो गरेका छन् ।
अहिले क्वारेन्टाइनमा राखिएकाहरुले नै खानेकुरा, पानी, शौचालय लगायतको समस्या भोग्नु परेको बताइरहेका छन् ।