उज्यालो अभियानको वार्षिकोत्सवका अवसरमा वृद्धवृद्धालाई मिष्ठान्न

वृद्धाश्रमका संरक्षक बाशुदेव शरण कोइरालालाई चेक प्रदान गरिँदै । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – उज्यालो अभियान मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित उज्यालो अभियान दैनिकको प्रथम वार्षिकोत्सवका अवसरमा बिहिवार सर्लाहीको जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा मिष्ठान भोजनका लागि सहयोग गरिएको छ ।

मिष्ठान भोजन बापतको सहयोगका लागि प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक टंकबहादुर क्षेत्री, सञ्चालक सदस्य एवं नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पूर्व अध्यक्ष रोशन न्यौपाने, सञ्चालक सदस्य एवं सम्पादक अच्युतकुमार सापकोटा तथा सञ्चालक सदस्यहरु कृष्ण थपलिया, घनश्याम बलम्पाकी, जनार्जन खत्री लगायत विहिबार दिउँसो आश्रममा पुगेका थिए । आश्रमको नियमानुसार मिष्ठान भोजन गराउने शुल्क अनुसार ५ हजार रुपैंयाको चेक संरक्षक बासुदेवशरण कोइरालालाई हस्तान्तरण गरिएको छ ।

चेक बुझ्दै आश्रमका संरक्षक कोइरालाले विशुद्ध सेवाभावले सञ्चालन भइरहेको वृद्धा आश्रमलाई दीर्घकालसम्म सञ्चालनका लागि सहयोग गर्न सबैसँग आग्रह गरे । कोरोनाको कहरपछि मुलुकभर जारी लकडाउनका कारण वार्षिकोत्सवमा कुनै पनि किसिमको कार्यक्रम गर्न नसकिए पनि वृद्धा आश्रममा आश्रय लिएर बसिरहनु भएका वृद्धबृद्धा एवं बालबालिकालाई भोजन गराउन आर्थिक सहयोग गरिएको उज्यालो अभियान मिडिया नेटवर्क प्रालिका अध्यक्ष क्षेत्रीले बताए । लकडाउनपछि पत्रिकाको नियमित प्रकाशन रोकिएको छ भने अनलाईनमार्फत सूचना तथा समाचार सामग्रीहरु प्रकाशन जारी रहेको सम्पादक सापकोटाले जानकारी दिए ।

यसैबीच जुटपानी आश्रममा बिहिवार नै बागमती नगरपालिका मिलनचौकका पशुपति सुवेदीको ६७ औँ जन्मोत्सवमा बिहानको र लालबन्दीस्थित दिब्यज्योति आवासिय विद्यालयका संस्थापक कुमार प्रधानले दिवंगत छोराको पहिलो वार्षिक पुण्य तिथीमा बेलुकाको मिष्ठान भोजनको व्यवस्था मिलाएका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।