सीमामा अलपत्र परेकाको उद्धार जारी, बलरामा भारतबाट आएका ४१ जनाको पीसीआर रिर्पोट नेगेटिभ

मलंगवा – नेपाल–भारत सीमामा आएका सर्लाहीका वासिन्दालाई वुधवार पनि उद्धार गरेर जिल्ला ल्याउने क्रम चलिरहेको छ ।
जिल्लाका विभिन्न पालिकाले आफ्ना वासिन्दालाई नाकामा गाडी नै पठाएर धमाधम उद्धार गरी क्वारेन्टाइनमा ल्याएर राखिरहेका छन् । भारतका विभिन्न ठाउँबाट सीमामा आएर सर्लाहीका वासिन्दा घण्टौंँसम्म उद्धारको पर्खाईमा बसिरहेका र उद्धारको काम चलिरहेको सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले उज्यालो अभियानलाई जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मलंगवाले दिएको विवरण अनुसार अहिले साँझसम्म जिल्लाका २० वटा पालिकाको क्वारेन्टाइनमा रहेकाहरुको संख्या तीन हजारको हाराहारीमा छ । यो संख्या थपिँदै गएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उज्यालो अभियानसँग बताए ।
भारतमा लकडाउन खुकुलो भएपछि त्यहाँ लामो समयदेखि अलपत्र परेका जिल्लावासीहरु रेलमा, गाडी रिर्जभ गरी तथा हिँडेरै सीमासम्म आइरहेका छन् । यो संख्या दैनिक रुपमा बढ्दो छ ।
यसैबीच भारसतसँगै सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिकामा भर्खरै भारतबाट आएका ४१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाईरसको संक्रमण नरहेको भनेर आएको छ । सर्लाहीबाट परीक्षणका लागि पठाइएको अझै तीन सय भन्दा बढीको पीसीआर रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।
भिटिएम किटको अभावमा जिल्लामा मंगलवारबाट भने स्वाब संकलन कार्य रोकिएको छ । भिटिएम किटको पालिका तथा प्रशासनको तर्फबाट माग भइरहेको जनाएका छन् ।