बागमतीद्वारा हरिवनको क्वारेन्टिनलाई सामग्री प्रदान

3
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं (दायाँ)लाई सामग्री हस्तान्तरण गर्दै बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की । (तस्बिर : उज्यालो अभियान)

हरिवन – बागमती सेवा समाज नामक गैर सरकारी संस्थाले हरिवन नगरपालिकाको क्वारेन्टिनका लागि विभिन्न स्वास्थ्य एवं स्वच्छता सामग्री प्रदान गरेको छ ।

मंगलबार दिउँसो संस्थाका अध्यक्ष भरतकुमार कार्कीले हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंलाई सो सामग्री प्रदान गरेका हुन् । कार्की अनुसार झुल, तौलिया, बेडसिट, साबुन, सेनिटाईजर, पीपीई लगायत विभिन्न स्वास्थ्य सुरक्षा एवं स्वच्छता सामग्री रहेका छन् ।

हरिवन नगरपालिकाले बाँसाटोल स्थित आफ्नो निर्माणाधिन कार्यालय भवनका सञ्चालन गरेको क्वारेन्टिनका लागि सहयोग पुगोस् भनेर सामग्री प्रदान गरिएको कार्कीले जानकारी दिए । बागमती सेवा समाजले प्रदान गरेको स्वास्थ्य सुरक्षा एवं स्वच्छता सामग्रीले क्वारेन्टिनलाई व्यवस्थित रुपले सञ्चालन गर्न निकै टेवा पुग्ने भन्दै मेयर प्रसाईंले संस्थाप्रति धन्यवाद प्रकट गरे ।

मेयर प्रसाईंका अनुसार हरिवन नगरपालिकाको क्वारेन्टिनमा हाल भारतबाट आएका १५ जनालाई राखिएको छ भने पीसीआर टेष्टमा कोरोना भाईरस नेगेटिभ आएपछि मंगलबार बिहान मात्र १५ जनालाई छाडिएको थियो ।