सर्लाही बागमतीका संक्रमित भन्छन्, ‘कसरी पोजेटिभ देखियो छक्क परेको छु’

बुधबार दिउँसो हरिवन नगरपालिकाले क्वारेन्टिनको रुपमा तयार पारेको निर्माणाधिन कार्यालय भवन परिसरमा स्बाव परीक्षण गराउन आएका सर्वसाधारण । (तस्बिर : उज्यालो अभियान)

टंक क्षेत्री/हरिवन – सर्लाही बागमती नगरपालिकाका कोरोना भाईरस संक्रमित पुरुषले दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

‘अस्ती निकालेको स्वाबको परीक्षण रिपोर्ट र आरडीटी दुवै नेगेटिभ आएको छ, हिजो पनि फेरि स्वाब निकालेको छ त्यसको रिपोर्ट पनि आज वा भोलीसम्म आउला’, काठमाडौं टेकु अस्पतालको आईसोलेसनमा रहेका उनले उज्यालो अभियानसँग टेलिफोनमा आशा व्यक्त गरे, ‘यो पटकको पनि रिपोर्ट नेगेटिभ आयो भने डाक्टरहरुले घर जान पाईन्छ भन्नुभएको छ ।’

ललितपुरको हरिसिद्धीमा कोठा भाडा लिएर बस्दै आएका उनी लकडाउन हुनुभन्दा १५ दिन अगाडी बागमती नगरपालिका–९ निर्माणचोकदेखि केही दक्षीणको सन्तोषपुर स्थित घर फर्किएका थिए । ‘लकडाउन भएपछि टाढा भनेको सितापुरसम्म गहुँ लिन गएको थिएँ अनि कहिलेकाँही तरकारी लगायत खाद्यान्न किन्न सोल्टी बजार जाने गरेको थिएँ, अरुजस्तो बाहिरफेर धेरै घुम्ने गरेको थिईन’, उनले आश्चर्य व्यक्त गर्दै भने, ‘शंकाष्पद ठाउँमा गएको जस्तो लाग्दैन अनि बाहिरका शंकाष्पद मानिससँग नजिकबाट हेलमेल पनि गरेको थिईन, ज्वरो, खोकी जस्ता कुनैपनि लक्षण थिएन र शरिरमा कुनै अफ्ठ्यारो महसुस पनि भएको थिएन तर कसरी कोरोना भाईरस पोजेटिभ देखियो छक्क परेको छु ।’

काकीलाई उपचार गराउन काठमाडौं लैजाँदा पुनः कोठामा जाने क्रममा घरबेटीले परीक्षण गराएर मात्र आउन भनेपछि उनले टेकु पुगेर स्वाब दिएका थिए । वैशाख ६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार उनमा कोरोना भाईरस पोजेटिभ देखियो ।

‘काकीले एक्कासी छाती पोल्यो भनेपछि नजिकैको क्लिनिकमा देखाउँदा तत्काल बाहिर लानुपर्छ भन्ने सल्लाह दिए, अनि एम्बुलेन्स खोजेर वैशाख २ गते भाई (काकीका छोरा) र म सँगै काठमाडौं आएका हौं’, उनले थपे, ‘अनि काकीलाई सहिद गंगालाल मुटुरोग अस्पतालमा भर्ना गरेपछि भाईलाई त्यही छाडेर म आफ्नो कोठामा सामानहरु प्याकिङ गर्न जाँदा घरबेटीले परीक्षण गराउन भनेपछि टेकु पुगेर स्वाब दिएको थिँए, स्वाबको परीक्षण त पोजेटिभ पो आयो ।’

उनले गाउँकै एक आधारभूत विद्यालयमा यसै शैक्षीक सत्रदेखि अध्यापन गर्न करारमा नाम निकालेका थिए । शिक्षकमा नाम निस्केकाले अब गाउँमै बस्ने निधो गरेका थिए । काकीलाई उपचार गराउन लैजाँदा हरिसिद्धी स्थित कोठाको सामानहरु प्याकिङ गरेर आफन्तको कोठामा सार्ने मनसायका साथ उनी कोठा गएका थिए । तर घरबेटीले परीक्षण नगराई भित्र पस्न नदिने भनेपछि उनले निर्धक्कसँग परीक्षण गराए, तर नतिजा भने ठिक उल्टो पोजेटिभ आईदियो ।

‘कुनै लक्षण थिएन अनि शरिरमा कुनै अफ्ठ्यारो महसुस पनि भएको थिएन, घरबेटीले भन्ने वितिकै रिपोर्ट राम्रै आईहाल्छ भनेर निर्धक्कसँग टेकुमा परीक्षण गर्न गएँ’, उज्यालो अभियानसँग उनले भने, ‘तर सोचेभन्दा ठिक उल्टो रिपोर्ट त पोजेटिभ पो आयो ।’

कोरोना पोजेटिभ भन्ने सुन्दा त छाँगाबाट खसेजस्तै महसुस भएको उनको अनुभव छ । ‘कोरोना भाईरस पोजेटिभ भयो रे भन्ने सुन्दा त छाँगाबाट खसेजस्तै लाग्यो’, उनले भने, ‘अस्पतालको आईसोलेसनमा गएको पहिलो रात त निन्द्रै लागेन, मरिन्छ कि क्या हो भनेर लाष्टै डर लाग्यो ।’ अहिले भने दोस्रो परीक्षण नेगेटिभ आएपछि डरत्रास हराएको उनले बताए ।

उनीसँगै एउटै एम्बुलेन्समा गएका र घरमा समेत नजिकबाट हेलमेल भएकाले काकी र भाईको पनि स्वाब निकालेकामा काकीको रिपोर्ट नेगेटिभ आईसकेको र भाईको भने अझै रिपोर्ट नआएको उनले बताए । गंगालालले डिस्चार्ज गरेकाले हाल भाई र काकी घर फर्किसकेका छन् ।

उनका आफन्त र उनीसँग हेलमेल भएका साथिभाई गरेर सन्तोषपुर गाउँका १२ जनाको स्वाब परीक्षणका लागि गत बुधबार हरिवन नगरपालिकाको क्वारेन्टिन स्थलबाट निकालेर काठमाडौं पठाईएको छ । उक्त स्वाब परीक्षणको रिपोर्ट आज (सोमबार) साँझसम्म आउने बताईएको छ । परीक्षणका लागि स्वाब निकालिएकाहरुलाई हाल श्री नवजनजागरण मावि शंकरपुरमा तयार पारिएको क्वारेन्टिनमा राखिएको छ ।

लकडाउन छिचोल्दै बाहिरबाट आउने अथवा बाहिर गएर फेरि गाउँ आउने भन्दापनि घरमै बसिरहेको अवस्थामा कोरोना भाईरस पोजेटिभ देखिने सर्लाहीका उनी दोस्रा व्यक्ति हुन् । यसअघि रामनगर गाउँपालिका–४, बहुअर्वा गाउँकी १८ वर्षीया युवतीको पनि कोरोना भाईरस पोजेटिभ देखिएको थियो । स्थानीयका अनुसार काठमाडौं बस्दै आएकी उनी होली मनाउन गाउँ आएकी थिईन् । कलेजले अनलाईन पढाउने भनेपछि गाउँमा ईन्टरनेट कमजोर भएकाले उनी आफन्तसँगै मोटरसाईकलमा काठमाडौं गएर परीक्षण गराउँदा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । उनीसँगै मोटरसाईकलमा गएका र गाउँका आफन्तहरुको रिपोर्ट पनि नेगेटिभ आाईसकेको छ ।

लकडाउन सूरु भएयता सर्लाहीमै बसोबास गर्दै आएका वा भारत लगायत बाहिरबाट आएकाहरु समेत गरी जिल्लामा ३२ जनामा कोरोना भाईरस पोजेटिभ देखिईसकेको छ । जसमध्ये भारतबाट आउने २७ जनाको पोजेटिभ देखिएको हो । जसअनुसार भारतबाट आएर गोडैता नगरपालिकाको क्वारेन्टिनमा बसिरहेका मध्ये एक युवती सहित २६ जना, भारतबाटै आएर रामनगर गाउँपालिकाको क्वारेन्टिनमा बसेका १ जना, भारतबाटै आएका धनकौल गाउँपालिकाका एक किशोरमा पोजेटिभ देखिएको हो । त्यस्तै हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय मानसिक रोगका बिरामी समेत रहेका एक पुरुषमा पोजेटिभ देखिएको छ । जनकपुर स्थित प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका उनी हिजो (आईतबार) मात्र फरार भएका छन् । उनी घरमा नबसेर जनकपुर, बर्दीबास लगायत मुलुकका विभिन्न ठाउँहरुमा घुमि हिड्ने गरेका थिए ।

त्यस्तै उदयपुर जिल्ला त्रियुगा नगरपालिका–११ घर भई हाल हरिवन नगरपालिका–१०, नयाँरोडमा डेरामा बस्दै आएका ट्रक चालकको पोजेटिभ देखिएको छ । उनी तरकारी तथा फलपुल ढुवानी गर्ने ट्रक चलाउने क्रममा काठमााडौं लगायत मुलुकका विभिन्न ठाउँहरुमा गईरहने गर्दथे ।

त्यस्तै सर्लाहीको हरिपुर नगरपालिका–७, पचगछिया घर भई हाल जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षकलाई पनि हिजो (आईतबार) मात्र कोरोना पोजेटिभ देखिएको थियो । उनी पनि तीन महिनायता घर नआएको सर्लाही प्रहरी स्रोतले जनाएको छ ।