सर्लाहीका संक्रमित आईसाेलेसनबाटै फरार

हरिवन– प्रादेशिक अस्पताल जनकपुरको आईसोलेसनमा राखिएका सर्लाहीका एक कोरोना भाईरस संक्रमित आज (आईतबार) फरार भएका छन् ।

सर्लाहीको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय संक्रमित जनकपुर स्थित आईसोलेसनबाट भागेका हुन् । मानसिक रोगका बिरामी समेत रहेका ती पुरुषलाई गत मंगलबार राती जनकपुर पठाईएको थियो ।
दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले आईतबार बिहान अस्पतालको आईसोलेसन कक्षबाट ती संक्रमित भागेको उज्यालो अभियानलाई बताए । ‘मानसिक रोगका समेत बिरामी रहेका उनलाई निगरानी गर्न कोठामा सीसी क्यामेरा समेत राखिएको थियो’, डिआईजी सिंहले भने, ‘तर सीसी क्यामेरा नै फुटाएर भागेछन् ।’ उनको खोजी कार्य व्यापक बनाईएको डिआईजी सिंहले जानकारी दिए ।