पूर्व सांसद् नरेन्द्र साहले दिए हरिवन र बरहथवालाई आधुनिक ‘सेनिटाईजर बुथ’

हरिवन – पूर्व सांसद् नरेन्द्र साहले व्यक्तिगत खर्चमा जिल्ला स्थित हरिवन र बरहथवा नगरपालिकालाई आधुनिक ‘सेनिटाईजर बुथ’ प्रदान गरेका छन् ।

पूर्व सांसद् साहका प्रतिनिधि रोशन लामा र श्यामबाबु यादवले क्रमशः बरहथवा नगरपालिका र हरिवन नगरपालिकालाई एक–एक थान सेनिटाईजर बुथ प्रदान गरेका हुन् । लामाले बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो तथा यादवले हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंलाई बुथ हस्तान्तरण गरेका थिए । काठमाडौंमा अर्डर गरेर बनाईएको बुथ सम्बन्धित नगरपालिकाले भनेकै स्थानमा राखिदिएको हाल काठमाडौंमा रहेका पूर्व सांसद् साहले टेलिफोनबाट उज्यालो अभियानलाई जानकारी दिए ।  

‘कोरोना भाईरस (कोभिड–१९) को संक्रमण न्युनिकरण गर्नका लागि तत्काल आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत दुईवटा मुख्य व्यापारिक स्थल हरिवन र बरहथवामा राख्न सेनिटाईजर बुथ प्रदान गरेको छु’, पूर्व सांसद् साहले उज्यालो अभियानसँग टेलिफोनमा भने, ‘सार्वजनिक कामले नै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, सर्वसाधारण लगायतको बढी चहलपहल हुने मुख्य व्यापारिक केन्द्र हरिवन र बरहथवा नगरपालिकामा सेनिटाईजर बुथ राख्दा पक्कैपनि कोरोना भाईरस संक्रमण न्युनिकरणमा टेवा पुग्ने विश्वास लिएको छु ।’

अत्याधुनिक प्रविधीबाट नेपालमै अर्डर गरेर बनाउन लगाईएको टनेल जस्तो सेनिटाईजर बुथभित्र मान्छे हिँड्दा स्वीच अन गरेपछि दुई ठाउँबाट सेनिटाईजर स्प्रे हुन्छ । हात धुने सुविधा समेत रहेको बुथसँगै आवश्यक सेनिटाईजर पनि उपलब्ध गराईएको साहले जानकारी दिए ।

हरिवन नगरपालिकाले निर्माणाधिन कार्यालय भवनमा तयार पारिएको क्वारेन्टिन स्थलमा राखेको छ भने बरहथवा नगरपालिकाले ईलाका प्रहरी कार्यालय बरहथवा अगाडी राजमार्गमा बुथ सञ्चालनमा ल्याएको छ । पछिल्लो समय क्वारेन्टिन स्थलमा जिल्लाका सुरक्षा अधिकारी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी सहित सर्वसाधारणको समेत चहलपहल बढ्न थालेकाले बुथ मार्फत सेनिटाईजरिङको व्यवस्था हुँदा निकै सहज भएको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले जानकारी दिए । यसअघि पनि विभिन्न सहयोग गर्दै आएका पूर्व सांसद् साहको यो सहयोगले कोरोना भाईरस संक्रमण न्युनिकरणमा निकै टेवा पुग्ने भन्दै मेयर प्रसाईंले उनीप्रति आभार समेत प्रकट गरे ।

जिल्लाकै बरहथवा नगरपालिका अन्तर्गत हिरापुर निवासी साह २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् थिए । २०७४ सालको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचन अन्तर्गत क्षेत्र नं. ३ बाट संघीय सांसद्मा स्वतन्त्र उम्मेद्वारी दिएका साह पराजित भएपछि पनि निरन्तर निर्वाचन क्षेत्र भित्र विभिन्न खाले विकास निर्माण सहित रचनात्मक सहयोगमा लागि पर्दै आएका छन् । साहले हरिवन, बरहथवा लगायत महत्वपूर्ण व्यापारिक स्थलमा सिसी टिभी क्यामेरा जडान, सुरक्षाकर्मीलाई साईरन साईकल प्रदान, विभिन्न भौतिक पूर्वाधार निर्माण, सरसफाईका लागि निर्वाचन क्षेत्र भित्रका स्वास्थ्य, शिक्षा लगायत सार्वजनिक संस्थाहरु एवं सार्वजनिक स्थानका लागि आधुनिक डस्टविन प्रदान जस्तो सहयोग गरिसकेका छन् । बाढी, आगलागी जस्तो प्रकोपबाट पीडित परिवारलाई समेत राहत सामग्री प्रदान गर्दै आएका साहले यसअघि नै कोरोना भाईरसको संक्रमण न्युनिकरणमा सकृय जिल्ला विपद् व्यवस्थापन समिति, निर्वाचन क्षेत्र भित्रका स्थानीय तह, संचारकर्मी लगायतलाई मास्क, सेनिटाईजर सहित लकडाउनबाट पीडितलाई राहत समेत प्रदान गरेका छन् । पर्यटन व्यवसायी समेत रहेका साहको जिल्लाबासीलाई सहयोग गर्न पाउँदा आफूलाई निकै आनन्द महसुस हुने तर्क छ ।

फोटो क्याप्सन : हरिवन नगरपालिकाको क्वारेन्टिन स्थलमा राखिएको बुथभित्र हिँडेर सेनिटाईजरिङ हुँदै हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं । (तस्बिर : उज्यालो अभियान)