कोरोना संक्रमित बढेपछि सर्लाहीमै आईसोलेसन वार्ड तयार पारियो

सदरमुकाम मलंगवास्थित आइसोलेसनको रुपमा प्रयोग गरिएको नर्सिङ कलेजको भवन । संक्रमितलाई होम आइसोलेसनमै बस्न भनिएसँगै यो भवन अहिले खाली छ । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि उनीहरुलाई राख्न जिल्लामै आईसोलेसन वार्ड तयार पारिएको छ ।

आज (शनिबार) दिनभर लगाएर ५० बेडको आइसोलेसन वार्ड तयार पारिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । प्रदेश सरकारले सदरमुकाम मलंगवा स्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा नयाँ आईसोलेसन वार्ड तयार पारेको हो ।

प्रादेशिक अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल लगायत विभिन्न स्थानका आईसोलेसन वार्डहरु संक्रमितले भरिएपछि प्रदेश सरकारले सर्लाहीमै नयाँ आईसोलेसन वार्ड तयार पारेको प्रजिअ जिसीले जानकारी दिए । शनिबार दिनभर प्रदेश सरकारका अधिकारी, जिल्ला अस्पताल मलंगवाका स्वास्थ्यकर्मी एवं नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीको सकृयतामा वार्ड तयार भएको प्रजिअ जिसीले बताए ।

प्रजिअ जिसीका अनुसार तत्काल ५० बेडको आईसोलेसन वार्ड तयार पारिएको छ भने ठूलो भवन भएकाले आवश्यकता अनुसार बेड संख्या थप गर्दै लैजाने योजना रहेको छ । ‘अन्त सबै ठाउँका आईसोलेसन वार्ड भरिएकाले प्रदेश सरकारले सर्लाहीमै नयाँ आईसोलेसन वार्ड तयार पारेको हो’, प्रजिअ जिसीले शनिबार दिउँसो उज्यालो अभियानसँग भने, ‘अब सर्लाहीका कोरोना भाईरस संक्रमितलाई यसै वार्डमा राखिने छ ।’ उक्त आईसोलेसन वार्ड प्रदेश सरकार मातहतको जिल्ला अस्पतालले सञ्चालन गर्ने छ ।

पछिल्लो दुई दिनयता सर्लाहीमा लगातार दोहोरो अंकमा कोरोना भाईरस पोजेटिभ फेला परेका छन् । सर्लाहीमा निरन्तर संक्रमित बढेपछि प्रदेश सरकारले सदरमुकाम मलंगवामै नयाँ आईसोलेसन वार्ड तयार पारेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आज (शनिबार) दिउँसोसम्म सर्लाहीमा ३३ जना कोरोना भाईरस संक्रमित पुगेका छन् । तथापी हालसम्म ३२ जनामात्र पत्ता लागेको र सम्पर्कमा समेत आईसकेपनि एकजना भने फेला पर्न नसकिएको प्रजिअ जिसीले जानकारी दिए ।

प्रजिअ जिसीका अनुसार आज (शनिबार) थप भएका १३ जना मध्ये एकजना काठमाडौंमै रहेका र बाँकी १२ जनालाई आजै रातीसम्म मलंगवा स्थित आईसोलेसन वार्डमा ल्याईने छ । ती १२ जना गोडैता नगरपालिकाको क्वारेन्टिनमा राखिएका छन् । केही दिनअघि भारतबाट फर्किएपछि उनीहरुलाई नगरपालिकाले क्वारेन्टिनमा राखेर स्वाब परीक्षणका लागि काठमाडौं पठाएको थियो । ८४ जना मध्ये हालसम्म सबैको रिपोर्ट नआईसक्दै गोडैताको क्वारेन्टिनबाट मात्र २५ जनामा पोजेटिभ देखिईसकेको छ ।

हालसम्म संक्रमित भएका मध्ये १६ जना प्रादेशिक अस्पताल जनकपुर र १ जना वीरगंजमा उपचाररत छन् भने तीनजना काठमाडौंमै रहेका छन् ।

गोडैता नगरपालिकाको क्वारेन्टिनमा रहेका १२ जनालाई शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार कोरोना पोजेटिभ देखिएको हो । ती १२ जनालाई अहिले शनिबार साँझसम्म मलंगवा स्थित आईसोलेसन वार्डमा ल्याईने प्रजिअ जिसीले जानकारी दिए ।