भुजेल दम्पत्तिले ५ बिगाहमा फलाएको तरकारी बिकेन

सासापुर – पाँच बिगाह जग्गा भाडामा लिएर लगाएको तरकारी बिक्री नभएपछि सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेका एक दम्पत्ति मारमा परेका छन् । स्थानीय रामकुमार भुजेल र सम्झना भुजेलले फलाएको तरकारी लकडाउनका कारण बिक्री हुन नसकेको हो ।
एक बिगाह जग्गाको वर्षमा ६० हजार रुपैयाँ भाडा तिरेर लगाएको तरकारी बिक्री नहुँदा बारीमै कुहिएर गएको उनीहरुले गुनासो गरेका हुन् । दुई बिगाहमा लगाएको परबल र तीन बिगाहमा लगाएको भेन्डी, फर्सी, घिरौला, लौका लगायतका तरकारी बिक्री गर्न नपाएको उनीहरुको गुनासो छ । प्रशस्त तरकारी उत्पादन हुने सिजनमै लकडाउन भएपछि तरकारी बेच्न नपाएको रामकुमार भुजेलले बताए ।
प्रतिकिलो पाँच रुपैयाँमा समेत बिक्री नभएपछि १५ कठ्ठामा लगाएको भेन्डी केही दिनअघि ट्याक्टर लगाएर जोतेको भुजेलले गुनासो गरे । विभिन्न ठाउँका व्यापारीले तरकारीका लागि सम्पर्क गरेपनि लकडाउनले गर्दा कोही पनि आउन सकेका छैनन् ।
ज्यालामा मान्छे लगाएर निकै मेहनत गरी पाँच बिगाहमा फलाएको तरकारी बिक्री नहुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको रामकुमारकी श्रीमती सम्झना भुजेलले दुःखेसो पोखिन् । दुवै जना डिग्री पास गरेर पनि कृषि कर्ममा लागेका भुजेल दम्पत्तिले कोरोना भाईरस (कोभिड–१९) को कहरपछि देशभर लगाइएको लकडाउनले गर्दा तरकारी बिक्री नहुँदा मर्कामा परेको भन्दै स्थानीय सरकारसँग सहयोगको माग गरेका छन् ।