सर्लाहीबाट दुई संक्रमितका आफन्त सहित ४० जनाको स्वाब संकलन

बुधबार दिउँसो हरिवन नगरपालिकाले क्वारेन्टिनको रुपमा तयार पारेको निर्माणाधिन कार्यालय भवन परिसरमा स्बाव परीक्षण गराउन आएका सर्वसाधारण । (तस्बिर : उज्यालो अभियान)

हरिवन – कोरोना भाईरस संक्रमित सर्लाहीका दुईजनाको आफन्त एवं सम्पर्कमा आएकाहरु गरी ४० जनाको स्वाब बुधबार दिउँसो संकलन गरिएको छ । हरिवन नगरपालिकाको निर्माणाधिन भवनमा स्वास्थ्यकर्मीहरुले कोरोना भाईरस परीक्षणका लागि स्वाब निकालेका हुन् । स्वाब परीक्षणका लागि बुधबार नै काठमाडौं पठाईएको छ ।

हरिवन नगरपालिका–१०, नयाँरोड स्थित एक घरमा बस्ने संक्रमितका आफन्त सहित उक्त घरमा बस्दै आएका १५ जनाको स्वाब निकालिएको छ । संक्रमित ३५ वर्षीय पूरुषलाई भने उपचारका लागि मंगलबार साँझ नै जनकपुर स्थित प्रादेशिक अस्पताल पठाईएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिका–११ घरभई हाल हरिवनको नयाँरोडमा डेरा गरी बस्दै आएका एक ३५ वर्षीय पुरुषलाई कोरोना भाईरस पुष्टी भएपछि उनी डेरा बसेको घरमा बस्दै आएका १५ जनाको स्वाब संकलन गरिएको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले जानकारी दिए । उक्त घरको पहिलो तलामा सटरहरु रहेको र दोस्रो तल्लामा संक्रमित पुरुष र उनकी श्रीमति सहित एक छोरा र छोरी तथा अन्य कोठाहरुमा थप ७ जना भाडामा बस्दै आएका थिए । तेस्रो तल्लामा भने घरधनीका ४ जना बस्दै आएका थिए । दोस्रो तल्लामा भाडामा बस्ने एक चालकको सम्पर्कमा रहेकाले बागमती घरमा बस्ने गरेका एक सहचालकको समेत स्वाब परीक्षणका लागि निकालिएको हो ।

त्यस्तै संक्रमित चालकले चलाउने ट्रकधनी सासापुर तिनघरे निवासी पूरुषको पनि स्वाब निकालिएको छ । तरकारी ओसार्ने ट्रक चलाउने ती चालकलाई ट्रकधनीले ट्रक उनको घरमा थन्काएपछि नियमित रुपमा मोटरसाईकलमा राखेर नयाँरोडसम्म पु¥याउने र पुनः लिन जाने गरेकाले उनको पनि स्वाब परीक्षण गरिएको हो ।

त्यस्तै भारतको दिल्ली स्थित नोयडाबाट बुधबार बिहान आईपुगेका हरिवन नगरपालिका–१, अत्रौलीका एक युवाको पनि स्वाब परीक्षणका लागि निकालिएको छ । स्वाब निकालिएका सबै १७ जनालाई नगरपालिकाको दोस्रो तल्लामा तयार पारिएको क्वारेन्टिनमा राखिएको छ । स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ नआएसम्म सबैलाई क्वारेन्टिनमै राखिने मेयर प्रसाईंले जानकारी दिए ।

यो पनि पढ्नोस्

सर्लाही नयाँरोडका संक्रमितलाई जनकपुर पठाईयो, भोलिबाट हरिवन नगरपालिका ‘सिल’ गर्ने तयारी

सर्लाहीका दुईजना संक्रमित भनिएका मध्ये एकजना उदयपुर निवासी तर नयाँराेडमा डेरा गरेर बस्ने

बागमतीका १२ जनाको स्वाब पनि हरिवनबाटै संकलन

बागमती नगरपालिका–९, निर्माणचोकदेखि दक्षीण सन्तोषपुर टोलका संक्रमित पुरुषको सम्पर्कमा आएका शंकाष्पद् १२ जनाको स्वाब पनि बुधबार दिउँसो हरिवन नगरपालिकाको क्वारेन्टिन स्थलबाटै संकलन गरिएको छ । पेशाले शिक्षक ती पुरुष गत जेठ १ गते आप्mनै काकीलाई उपचार गराउन काठमाडौं गएका थिए । उनीसँग मुटुरोगकी बिरामी काकी र काकीको छोरा भाईपनि सँगै गएका थिए ।

काठमाडौैं बहिनीको कोठामा जाँदा घरबेटी लगायत स्थानीयले स्वाब परीक्षण गराएर मात्र आउन भनेपछि उनी आफै टेकु अस्पताल पुगेर स्वाब दिएको बताईएको छ । बिरामी काकीको भने सहिद गंगालाल मुटुरोग अस्पतालमा उपचार भईरहेको छ । संक्रमित पुरुषका आफन्त एवं उनले बताए अनुसार नजिकबाट सम्पर्कमा रहेका भनिएका बरहथवा र बागमती नगरपालिकाका १२ जनाको स्वाब संकलन गरिएको हो । परीक्षणका लागि स्वाब संकलन गरिएका १२ जनालाई सोल्टी बजारदेखि दक्षिण जनता माविमा तयार पारिएको क्वारेन्टिनमा राखिने बागमती–९ का वडाध्यक्ष रामबाबु दासले जानकारी दिए ।

स्वाब संकलन स्थलमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका एसपी दिलिप सिंह लगायतको समेत उपस्थिती रहेको थियो ।