सर्लाहीको नयाँरोड र सन्तोषपुरमा ‘सिल’ !

कोरोना भाईरस संक्रमित बस्दै आएको हरिवन नयाँरोड बजार स्थित घर सिल गर्न मंगलबार साँझ आईपुगेको सुरक्षानिकायको टोली । (तस्बिर : अच्युतकुमार सापकोटा/उज्यालो अभियान)

हरिवन – कोरोना भाईरस संक्रमित फेला परेपछि सर्लाहीको नयाँरोड र सन्तोषपुर क्षेत्रमा थप कडाई गरिएको छ ।

कोरोना भाईरस संक्रमित फेला परेपछि थप जोखिम आईनपरोस भनेर उक्त क्षेत्रमा बुधबारबाट सर्वसाधारणको आवतजावतमा थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका–११ घरभई हाल हरिवन नगरपालिका–१० नयाँरोड बजारमा डेरा गरी बस्दै आएका एक ३५ वर्षीय पुरुष र बागमती नगरपालिका–९, निर्माणचोक देखि दक्षिण सन्तोषपुर निवासी ३४ वर्षीय एक पुरुषमा कोरोना भाईरस पोजेटिभ देखिएको रिपोर्ट मंगलबार दिउँसो सार्वजनिक भएको थियो ।

विदेशबाट नआएका पूरुषमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना भाईरस फैलिएको अनुमान सहित थप महामारीबाट बचाउँनका लागि उक्त दुवै क्षेत्रमा सुरक्षाकर्मीहरु बाक्लै खटाईएको प्रजिअ जिसीले जानकारी दिए । ‘लकडाउन आफैमा सर्वसाधारणलाई घरबाट ननिस्कनुस् भनेर लागू गरिएको हो’, प्रजिअ जिसीले बुधबार दिउँसो उज्यालो अभियानसँग भने, ‘समुदाय स्तरमा दुईजना संक्रमित देखिएपछि दुवै क्षेत्रमा सुरक्षाकर्मीहरुको विशेष निगरानी सहित सुरक्षा व्यवस्था कडा पारिएको छ, अति आवश्यक बाहेक कोही कसैलाई घरबाट निस्कने छुट हुँदैन ।’ प्रजिअ जिसीले जिल्ला स्थित अन्य स्थानका सर्वसाधारणलाई समेत घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

हरिवन नगरपालिकाले पनि बुधबारबाट नगर क्षेत्रभित्र सञ्चालनमा रहेका खाद्यान्न पसल, तरकारी पसल सहित सम्पूर्ण बैंक तथा वितिय संस्थाहरु ७ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । ‘बुधबार बिहान बैठक बसेर हाँमीले अस्पताल, औषधी पसल बाहेक खाद्यान्न एवं बैंक तथा वितिय संस्थाहरु सहित सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरेका छौं’, मेयर गणेशप्रसाद प्रसाईंले उज्यालो अभियानसँग भने, ‘एम्बुलेन्स, स्वास्थ्य संस्था र विकास निर्माणमा प्रयोग हुने बाहेक सम्पूर्ण सवारी साधन चलाउन समेत निषेध गर्ने निर्णय गरेका छौं ।’ नगरपालिकाको दोस्रो ठूलो बजार नयाँरोडमा बसोबास गरिरहेका एक पुरुषमा कोरोना भाईरस संक्रमण देखिएपछि थप महामारी नफैलियोस् भन्ने उद्धेश्यले स्वास्थ्य र विकास निर्माण बाहेक सम्पूर्ण सेवा व्यवसाय बन्द गर्ने निर्णय गरिएको मेयर प्रसाईंले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्याय पनि नयाँरोड सहित हरिवन बजार क्षेत्रमा कडाई गरिएको बताउँछन् । लकडाउन उल्लंघन गर्दै चल्ने गरेका सवारी साधन नियन्त्रणमा लिएर लकडाउनको अवधीसम्म नियन्त्रणमै राखिने प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए ।

यो पनि पढ्नोस्

सर्लाहीबाट दुई संक्रमितका आफन्त सहित ४० जनाको स्वाब संकलन

सर्लाही नयाँरोडका संक्रमितलाई जनकपुर पठाईयो, भोलिबाट हरिवन नगरपालिका ‘सिल’ गर्ने तयारी