सर्लाही रामनगरकी काेराेना संक्रमित युवतीका अाफन्त सहित २१ जनाकाे स्वाब परीक्षण नेगेटिभ

गत मंगलवार सर्लाहीको हरिपूर्वामा स्वाब संकलन गरिँदै । तस्बिर : उज्यालो अभियान

मलंगवा – सर्लाहीको दक्षिणी क्षेत्र स्थित रामनगर गाउँपालिकाबाट संकलन गरिएकाे २१ जनाको स्वाब परीक्षणकाे नतिजा नेगेटिभ अाएको छ ।

स्थानीय १८ वर्षीया  युवतीमा काेराेना भाईरस पाेजेटिभ देखिएपछि गत शनिवार उनका अाफन्त एवं क्वारेन्टिनमा राखिएकाहरुकाे स्वाब संकलन गरी टेकु अस्पतालमा पीसीअार परीक्षणका लागि पठाईएकाे थियाे । २१ जनाकै स्वाब परीक्षण नतिजा नेगेटिभ भएकाे जानकारी अाईतबार सँझ प्राप्त भएकाे प्रमुख जिल्ला अधिकारी माेहन जिसीले जानकारी दिए ।

रामनगर गाउँपालिका-४ बाट दुई साताअघि काठमाडाैं गएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि उनका यहाँ रहेका परिवारका सदस्य र गाउँपालिकाको क्वारेन्टाइनमा रहेका गरी जम्मा २१ जनाको स्वाब संकलन गरिएको हो । परिवारका सदस्यसँग सोधपुछ गर्दा फागु पूर्णिमा (होली) मनाउन चैत ७ गते गाउँ आएकी युवती वैशाख २२ गते मोटरसाइकलमा काठमाडाैं गएको खुलेको रामनगर गाउँपालिका–४, का वडाध्यक्ष रामनरेश महतोले बताए । युवतीसँगै उनका दुई बहिनी, एउटा भाई र गाउँबाट काठमाडाैं चल्ने बसमा काम गर्ने एक जना कण्डेक्टर दुईवटा मोटरसाइकलमा काठमाडाैं गएका थिए । होली मनाउन गाउँ आएकी सङ्क्रमित युवतीको परिवार काठमाडाैंमा नै बस्छन् । युवतीका हजुरबुवा, हजुर आमा, काका, काकी र काका काकीका छोराछोरीसहित १४/१५ जना गाउँमै बस्दै आएका छन् । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । संक्रमित युवतीका बुबा अामा सहित सहित काठमाडाैंमा बसेकाहरुकाे स्वाब परीक्षण पनि नेगेटिभ नै अाईसकेकाे परिवारका सदस्यले जानकारी दिएका छन् ।

जिल्लाकाे दक्षिण–पश्चिम भेगस्थित बाग्मती नदीको किनारमा पर्ने रामनगर गाउँपालिका सदरमुकाम मलङ्गवादेखि झण्डै २२ किलोमिटर टाढापर्छ । त्यहाँ लकडाउन अर्थात बन्दाबन्दीको पालना नभएको गुनासो बारम्बार आइरहेको थियो । गाउँका मानिस जथाभावी हिँडडुल गर्ने र गाउँपालिकाभित्रका सिसौट, खैर्बा र ईनर्वा बजार निकै भीडभाड गरेर नियमितजसो लाग्दै आएको स्थानीय शिक्षक रामपवित्र साहले बताए ।
सर्लाहीमा हालसम्म धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय बालक, हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका मानसिक सन्तुलन ठीक नभएका ४५ वर्षीय पुरुष र रामनगर गाउँपालिका–४, बहुअर्वाकी १८ वर्षीया युवती गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । तीमध्ये बालकको वीरगञ्ज र पुरुषको जनकपुरमा उपचार भइरहेको छ भने युवती काठमाडाैंमै छिन् ।

गत मङ्गलवार हरिपूर्वाका पुरुषमा संक्रमण पुष्टी भएपछि बुधवार उनको परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्ति, केही छरछिमेकी र नगरपालिकाले क्वारेन्टाइनमा राखेका चार जना समेत गरी ३० जनाको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनकपुर पठाइएको छ । उनीहरुको भने रिपोर्ट आउन बाँकी छ ।