सर्लाहीको हरिपूर्वा र रामनगरका ४९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा र रामनगरमा थ्रोड स्वाब लिइएकोमध्ये ४९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
हरिपूर्वाबाट पठाइएको दुई जनाको रिर्पोट भने प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उज्यालो अभियानलाई जानकारी दिए । गत वुधवार हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका कोरोना सङ्क्रमित ४५ वर्षका पुरुषका परिवार, उनको सम्पर्कमा आएका व्यक्ति र नगरपालिकाको क्वारेन्टाइनमा बसेका समेत गरी ३० जना र शनिवार रामनगर गाउँपालिका–४, बहुअर्वाकी संक्रमित १८ वर्षीया युवतीको १५ जना आफन्त र गाउँपालिकाको क्वारेन्टाइनमा रहेका छजना गरी २१ जनाको थ्रोट स्वाब अर्थात खकारको नमूना सङ्कलन गरिएको थियो । सङ्कलित स्वाब काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको हो ।
दुई स्थानमा ५१ जनाको स्वाब लिइएकोमध्ये ४९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ, प्रजिअ जिसीले उज्यालोसँग भने, परीक्षणका लागि आवश्यक पर्ने थ्रोट स्वाबको मात्रा नपुगेर हरिपूर्वाका दुई जनाको रिपोर्ट नआएको हुनसक्छ, बुझ्ने काम हुँदैछ ।

यसअघि सर्लाहीका पहिलो कोरोना सङ्क्रमित धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय बालकको गाउँबाट पठाइएको एक जनाको स्वाब रिपोर्ट पनि प्राप्त हुन सकेको थिएन् ।