सर्लाहीको रामनगर बहुअर्वामा २१ जनाको थ्रोट स्वाब संकलन गरी टेकु पठाइयो

गत मंगलवार सर्लाहीको हरिपूर्वामा स्वाब संकलन गरिँदै । तस्बिर : उज्यालो अभियान

रामनगर बहुअर्वा – सर्लाहीको रामनगर गाउँपालिकामा २१ जनाको थ्रोट स्वाब अर्थात खकारको नमूना संकलन गरिएको छ । शनिवार साँझ अबेरसम्ममा स्वाब संकलन गरिएकाहरुको पीसीआर विधीबाट कोरानो भाईरस परीक्षण गराउन संकलित स्वाब राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले दिए ।
रामनगरबाट दुई साताअघि काठमाण्डौं गएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि उनका यहाँ रहेका परिवारका सदस्य र गाउँपालिकाको क्वारेन्टाइनमा रहेका गरी जम्मा २१ जनाको स्वाब संकलन गरिएको हो । परिवारका सदस्यसँग सोधपुछ गर्दा फागु पूर्णिमा (होली) मनाउन चैत ७ गते गाउँ आएकी युवती वैशाख २२ गते मोटरसाइकलमा काठमाण्डौं गएको खुलेको रामनगर गाउँपालिका–४, का वडाध्यक्ष रामनरेश महतोले बताए ।
युवतीसँगै उहाँका दुई बहिनी, एउटा भाई र गाउँबाट काठमाण्डौं चल्ने बसमा काम गर्ने एक जना कडेक्टर दुईवटा मोटरसाइकलमा काठमाण्डौं गएका थिए । होली मनाउन गाउँ आएकी सङ्क्रमित युवतीको परिवार काठमाण्डौं नै बस्छन् । रामनगरमा युवतीका हजुरबुवा, हजुर आमा, काका, काकी र काका काकीका छोराछोरीसहित १४÷१५ जना बस्दै आएका गाउँलेले बताएका छन् । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सङ्क्रमित युवतीका यहाँ हुँदा हिँडडुल नगरी घरमै बसेको पाइएकाले खासै जोखिम नदेखिएको बताए । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बाग्मती नदीको किनारमा पर्ने रामनगर गाउँपालिका सदरमुकाम मलङ्गवादेखि झण्डै २२ किलोमिटर टाढापर्छ । त्यहाँ लकडाउन अर्थात बन्दाबन्दीको पालना नभएको गुनासो बारम्बार आइरहेको थियो । गाउँका मानिस जथाभावी हिँडडुल गर्ने र गाउँपालिकाभित्रका सिसौट, खैर्बा र ईनर्वा बजार निकै भीडभाड गरेर नियमितजसो लाग्दै आएको स्थानीय शिक्षक रामपवित्र साहले बताए ।
सर्लाहीमा हालसम्म धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय बालक, हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका मानसिक सन्तुलन ठीक नभएका ४५ वर्षीय पुरुष र रामनगर गाउँपालिका–४, बहुअर्वाकी १८ वर्षीया युवती गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । तीमध्ये बालकको वीरगञ्ज र पुरुषको जनकपुरमा उपचार भइरहेको छ भने युवती काठमाण्डौंमै छिन् ।

गत मङ्गलवार हरिपूर्वाका पुरुषमा संक्रमण पुष्टी भएपछि वुधवार उहाँको परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्ति, केही छरछिमेकी र नगरपालिकाले क्वारेन्टाइनमा राखेका चार जना समेत गरी ३० जनाको थ्रोट स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनकपुर पठाइएको छ । उनीहरुको पनि रिपोर्ट आउन बाँकी छ ।