हरिवन नगरपालिकाले कोरोना विशेष क्वारेन्टाइन सञ्चालन गर्न MBBS डाक्टर नियुक्त गर्ने

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) को बढ्दो प्रकोपलाई मध्यनजर गर्दै कोरोना विशेष क्वारेन्टाइन सञ्चालन गर्न MBBS डाक्टर नियुक्त गर्ने भएको छ । सुक्रवार सम्पन्न विशेष नगर सभाले नगरपालिकाभित्र संक्रमण भित्रन नदिन अझ सतर्कता अपनाउँदै तत्काल करारमा MBBS डाक्टर नियुक्त गर्ने निर्णय गरेको हो । सभाले अहिले संकटको अवस्थामा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाई नगरवासीलाई सुरक्षित महसुस गराउने निर्णय भएको नगरप्रमुख गणेशप्रसाद प्रसाईले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्था नरहेका वडाहरुका लागि तत्कालै HA, अहेब र अनमी समेत नियुक्त गरेर स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय भएको छ । विशेष नगर सभामा उपस्थित नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु र नगर सभाका सदस्यहरुबीच भौतिक दूरी कायम गरेर सभा सम्पन्न गरिएको हो । नगर सभाले लकडाउन अर्थात बन्दाबन्दीपछि उत्पन्न अन्य स्वास्थ्य समस्या, कृषि, वैदेशिक रोजगार, सिँचाई, व्यापार व्यवसाय, उद्योग लगायतको क्षेत्रमा देखिएका समस्या समाधान गर्न पनि तत्कालै थप कार्यक्रम ल्याउने निर्णय गरेको छ ।