सर्लाहीमा कोरोना संक्रमित थपिएको पुष्टी भएको छैन् : सिडिओ जिसी

मलंगवा – सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जिल्लामा कोरोना संक्रमित थपिएको पुष्टी नभएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार बिहान निकालेको विज्ञप्तीमा सर्लाही धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको उल्लेख गरिएको छ । हाम्रो जिल्लामा धनकौल नगरपालिका नै छैन्, गाउँपालिका चाँही छ, प्रजिअ जिसीले केहीबेर अघि उज्यालो अभियानसँग भने, हामीले यहाँबाट स्वाब पठाएकै छैनौँ, कसरी नयाँ संक्रमित भेटियो भनेर विज्ञप्ती आयो ? कनफर्म गर्ने प्रयास गर्दै छौँ । जिल्लाका दोस्रो कोरोना संक्रमित हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुषका परिवार, उनको सम्पर्कमा आएका व्यक्ति र नगरपालिकाले क्वारेन्टाइनमा राखेका ४ जना समेत गरी ३० जनाको स्वाब संकलन गरेर वुधवार राती अबेर मात्रै जनकपुर पठाइएको थियो । राती पठाएको स्वाबको रिर्पोट आउने बेला नै नभएको अवस्थामा सर्लाहीमा कोरोना संक्रमित थपिएको भन्ने स्वास्थ्य मन्त्रालयको विज्ञप्ती आएको हो । सर्लाहीमा साबिकको पूर्वी धनकौल गाविस अहिले हरिपूर्वा नगरपालिकामा पर्छ भने साबिकको पश्चिम धनकौल गाविस धनकौल गाउँपालिकामा पर्छ ।