लिपुलेक माग्दै नेविसंघद्वारा फूलजाेरमा विरोध प्रदर्शन

फूलजोर चोक स्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान नाराबाजी सहित विरोध प्रदर्शनमा उत्रिएका नेविसंघ सर्लाहीका नेता कार्यकर्ताहरु । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)

फूलजाेर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार बिहान फूलजाेर स्थित पूर्व–पश्चिम राजमार्गमा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ सर्लाही एवं जनज्योति बहुमुखी क्याम्पस ईकाई कमिटीको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो । नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर भारतले मानसरोवर जाने सडक उद्घाटन गरेपछि विरोध कार्यक्रम आयोजना गरिएको नेविसंघ सर्लाहीका नेता विश्वामित्र रिजालले जानकारी दिए । कालापानी–लिपुलेक–लिम्पियाधुरा हाम्रो हो, भारतीय दादागिरी बन्द गर : हाम्रो भूमि फिर्ता गर जस्ता नारा अंकित प्लेकार्ड बोकेर विद्यार्थीहरुले नाराबाजी सहित राजमार्गमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नेविसंघ नेताहरु योगराज देवकोटा, मनोज बख्रेल, कृष्ण कार्की, विकास चिमोरिया सहित कांग्रेस केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्रीय सभापति प्रमाेद बराल, लालबन्दी नगर सभापति प्रशान्त आचार्य लगायत पार्टी नेताहरुको समेत सहभागिता रहेको थियो ।

दार्चुलामा पर्ने नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले यसअघि नै आफ्नो नक्सा सार्वजनिक गरिसकेको छ ।