लालबन्दीमा खानेपानी शुल्क महँगो भएको भन्दै चर्को जनगुनासो, वुधवार सर्वपक्षिय छलफल बोलाइयो

जनार्जन खत्री/लालबन्दी – सर्लाहीको लालबन्दीमा खानेपानी शुल्क महँगो भएको भन्दै चौतर्फी विरोध हुन थालेको छ ।
सोही क्रममा नगरका क्रियाशील दुई प्रमुख राजनीतिक दलले सोमवार बेग्लाबेग्लै पे्रस विज्ञप्ती निकालेर शुल्कमा पुनः विचार गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटीले लालबन्दी खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाद्वारा वितरित खानेपानीको न्यूनतम शुल्क अत्यधिक महँगो भएको बताएको छ ।
पार्टीका नगर संयोजक डिल्लीप्रसाद अधिकारी र सचिव लेखाराम जर्गा मगरले हस्ताक्षर गरेका पे्रस विज्ञप्तीमा खानेपानी शुल्क चर्को भएको, धारामा जडित सामग्रीहरु गुणस्तरहीन रहेको र ठाउँ–ठाउँमा पानी चुहावट भै प्रदुषित पानी प्रयोग हुने सम्भावना रहेकाले खानेपानी संस्थाको ध्यानार्षण गराएको छ ।
यस्तै नेपाली काँगे्रस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले पनि सोमवार नै पे्रस विज्ञप्ती प्रकाशित गरी उपभोक्ताको चासो र चिन्तालाई सम्वोधन गर्न र सुलभ दरमा पानी वितरण गर्न माग गरेका छन् । खानेपानी जस्तो नागरिकको अति आधारभूत आवश्यकता माथि हुन सक्ने राजनीतिक दाउपेचप्रति संवेदनशील बन्न पनि काँगे्रसले संस्थालाई सचेत गराएको छ ।
लालबन्दीकै गौरबको आयोजनाको रुपमा लिइएको खानेपानी आयोजनाले वितरण गरेको खानेपानीको शुल्क ज्यादै नै महँगो भएको भन्दै जनस्तरबाट समेत विरोध भइरहेको छ । आइतवार जनता समाजवादी पार्टी लालबन्दीले पनि ध्यानाकर्षण पत्र बुझाउँदै तत्कालै सर्वपक्षिय छलफल आयोजना गरी गुनासो सम्वोधन गर्न माग गरेको थियो । यस्तै जनस्तरबाट पनि यस सम्वन्धमा ध्यानार्षण गराइएको छ ।
संस्थाका अध्यक्ष बासुदेव अधिकारीले सोमवार समितिका पदाधिकारीहरुको बैठक बसेर पर्सी बैशाख ३१ गते वुधवार नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र नगरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिलाई राखेर सर्वपक्षिय छलफल राख्ने निर्णय भएको जानकारी दिए । जनस्तर तथा दलहरुबाट उठाइएका गुनासो तथा विषयमा सर्वपक्षिय बैठकमा छलफल हुने अधिकारीले बताए । उनले यहाँका नागरिकको हितको लागि खानेपानी सुविधा उपलब्ध गराइएको भन्दै शुल्कमा अन्याय र अप्ठेरो पर्ने गरी अघि नबढ्ने बताए ।
लालबन्दी नगरपालिका अन्तर्गत साबिकको लालबन्दी, पत्थरकोट र जब्दी गाविसमा खानेपानी वितरण गर्ने लक्ष्य लिइएको यस आयोजनाको हालसम्म ९६ प्रतिसत काम भइसकेको छ । उच्च भागमा पर्ने वडा नं. १२ र १३ पत्थरकोट क्षेत्रबाहेक अन्य वडामा केही महिना अघिदेखिनै धारा जडान गरेर पानी वितरण गर्न थालि सकिएको छ । कुल ८७ करोड ६४ लाख ३३ हजार ६ रुपैयाँ अनुमानित लागत रहेको आयोजनाको काम गर्ने ठेकेदारलाई हालसम्म ७५ करोड ८० लाख ५० हजार ३ सय ५० रुपैयाँ भुक्तानि गरिएको संस्थाले जनाएको छ ।