चिनी बोकेका ट्रक नियन्त्रण : धनकौलमा झडप, ११ जना घाईते

2
किसानले नियन्त्रणमा लिएपछि ईलाका प्रहरी कार्यालय हरकठवामा आठ दिनदेखि थन्किएका ट्रक ।

धनकौल – सर्लाहीको धनकौल गाउँपालिकामा आइतवार दुई पक्षबीच झडप हुँदा ११ जना घाईते भएका छन् ।
चिनी मिलबाट किसानको भुक्तानि दिलाउने विषयलाई राजनीतिक रङ्ग दिइँदा झडप भएको हो । आठ दिनअघि अन्नपूर्ण चिनी उद्योग धनकौलमा मौज्दात रहेको चिनी लिन मध्यरातमा आएका छ वटा ट्रक किसानले नियन्त्रणमा लिएका थिए । आफूहरुले बिक्री गरेको उखुको भुक्तानि नदिएसम्म ट्रक नछाड्ने अडान किसानले लिएका छन् ।
किसानले नियन्त्रणमा लिएका ट्रक धनकौल गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया गाउँपालिकास्थित प्रहरी चौकी भवानीपुरमा राखिएका छन् । हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रकमा चिनी छन् भने दुई वटा खाली रहेका छन् । यस्तै भवानीपुरमा रहेका दुवै ट्रकमा चिनी लोड गरिएको छ ।
प्रहरी कार्यालयमा थन्किएका ट्रक छाड्ने र किसानको बाँकी भुक्तानि दिलाउने विषयमा छलफल भइरहेको अवस्थामै झडप भएको हो । झडप हुनुमा एकले अर्को पक्षलाई आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता अजयकुमार सिंहले किसानले भुक्तानि पाउने आधार तय गरेर मात्रै ट्रक छाड्न खोज्दा काँगे्रसका कार्यकर्ताले विवाद गरी आक्रमणमा उत्रिएको आरोप लगाए । शनिवार मात्रै जिल्लाका सुरक्षा अधिकारीसहित सबै सरोकारवालाबीच छलफल गरी चिनी बिक्री हुनासाथ सबै किसानलाई न्यूनतम ५० हजार रुपियाँ प्रदान गर्ने सहमति जुटिसकेको अवस्थामा अचानक विवाद र्सिजना गरिएको उनले बताए । सहमतिका बारेमा आइतवार बिहान किसानलाई जम्मा पारेर जानकारी गराइरहेका बेला काँगे्रसका कार्यकर्ताले ढुङ्गामुढासहित आएर आक्रमण गर्दा आफूहरु तर्फका विष्णु प्रसाद सिंह, नितेश सिंह, सुरेश सिंह, जोगेन्द्र सिंह, खुशीकान्त झा र रामेश्वरी देवी घाईते हुनु भएको सिंहले जानकारी दिए । उनका अनुसार घाईतेहरुले बरहथवामा उपचार गराईरहेका छन् ।
यता काँगे्रसका नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले आक्रमणबाट आफ्नो तर्फका मुकेश साह, मोहन राय, अमरेन्द्र कुमार साह, इलियाम मन्सुरी र शम्भु साह घाईते भएका बताए । यि पक्षका घाईतेलाई उपचारका लागि मलंगवातर्फ लगिएको छ । घाईते शम्भु साहको घरमा तोडफोड समेत गरिएको प्रदेश सभा सदस्य सिंहले बताए । नेकपा र जनता समाजवादी पार्टीका नेताले अनावश्यक विवाद गरेर माहोल बिगारेको प्रदेश सभा सदस्य सिंहले आरोप लगाएका छन् ।
किसानको भुक्तानि दिलाउने विषयमा राजनीतिक हानाथाप हुँदा तीन÷चार वर्षदेखि चिनी मिलबाट भुक्तानि नपाएका किसान निराश भएका छन्् ।

बन्दाबन्दीको समयमा चिनी मिलबाट भुक्तानि पाइएला र घर व्यवहार धान्न अली सहज होला भन्ने आश गरेर बसेका किसान विवाद बढेपछि दुःखी भएका छन् । थप विवाद हुन नदिन धनकौलमा सुरक्षाकर्मी बढाइएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिए । अन्नपूर्ण चिनी मिलले किसानलाई तीन÷चार वर्षदेखिको भुक्तानि नदिँदा पटक–पटक किसान आन्दोलित भइरहेका छन् । दलालमार्फत समेत उखु खरिद गर्दै आएको आरोप लाग्ने सो मिलले किसानको कति भुक्तानि गर्न बाँकी छ ? भन्ने वास्तविक हिसाबकिताव नै छैन् ।

यो समाचार गोरखापत्र अनलाईनबाट साभार गरिएको हो ।