बागमतीद्वारा एप्रोन, स्यानिटाईजर र मास्क सहित स्वास्थ्य सामग्री प्रदान

4
बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का (निलो रंगको एप्रोन लगाएका)लाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै । (तस्बिर : उज्यालो अभियान)

हरिवन – बागमती सेवा समाज नेपाल नामक गैर सरकारी संस्थाले सर्लाहीका विपद् समिति, पालिका र अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालको आईसोलेसन कक्ष र ७ वटा पालिकालाई विभिन्न स्वास्थ्य एवं सुरक्षा सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । ५०० एमएलको ह्याण्ड स्यानिटाईजर २८० बोतल, १०० एमएलको स्यानिटाईजर ३७५ बोतल, सर्जिकल मास्क २ हजार ६५० थान, वासेवल रियुजेवल एप्रोन २२७ सेट, ईन्फ्रारेड थर्मोमिटर ५३ थान र केएन ९५ मास्क २८५ थान र ग्लोब्स २५ थान प्रदान गरिएको संस्थाका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिए ।

‘सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालको आईसोलेसन कक्ष, विपद् व्यवस्थापन समितिको उष्ण प्रदेशीय बागवानी स्थित क्वारेन्टाईन सहित हरिवन, लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिका एवं चन्द्रनगर, चक्रघट्टा र बसबरिया गाउँपालिकालाई उक्त सामग्री प्रदान गरेका छौं’, कार्कीले भने, ‘सम्बन्धित ठाउँहरुमै पुगेर सामग्री जिम्मा लगाईएको छ ।’ अक्सफाम तथा पौल डीउ जेनसेन फाउण्डेसनसँगको साझेदारीमा गत शनिबारदेखि सोमबार साँझसम्म सम्बन्धित निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको संस्थाले जनाएको छ ।

यो पनि पढ्नोस्

बागमतीद्वारा ५ सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

बागमतीले यसअघि पनि वल्र्ड भिजन लगायत अन्तर्राष्ट्रिय दातृ निकायसँगको साझेदारीमा कोशी अञ्चल अस्पताल एवं सर्लाही सहित विभिन्न ५ जिल्लाका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । त्यस्तै बाढी, आगलागी लगायत प्रकोपको बेला समेत संस्थाले उद्धार र राहतको काम गर्दै आईरहेको संस्थाका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिएका छन् ।

यो पनि पढ्नोस्

कोरोना भाईरस विरुद्ध गाउँगाउँमा सरसफाईकर्मी

पालिकाहरुलाई क्वारेन्टाईन संख्याको आधारमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण विरुद्ध काम गर्नका लागि बागमती सेवा समाजबाट प्राप्त स्वास्थ्य सम्बन्धी सुरक्षा सामग्रीले निकै टेवा पुग्ने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले विश्वास व्यक्त गरे । पैसा हालेर किन्छु भन्दापनि सहज रुपमा नपाईने यस्ता सामग्री प्रदान गरेर बागमती सेवा समाजले ठूलो गुन लगाएको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं बताउँछन् ।