जमिन्दारलाई राहत दिएको भन्दै चमार समुदायको धर्ना र ज्ञापन

15
जिल्ला प्रशासन कार्यालयमा जान खोजेपनि प्रहरीले रोकेपछि जिविस चोक स्थित सडकमै बसेका चक्रघट्टाको पडरिया स्थित चमारटोलका महिलाहरु ।

मलंगवा – सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, चमार टोलका बासिन्दाले जमिन्दारहरुलाई राहत दिईएको भन्दै विरोध स्वरुप सोमबार दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन सहित छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

जमिन्दारहरुलाई राहत सामग्री बाँडिएको गरिएको तर अति विपन्न अवस्था रहेको आफू सहित चमारटोलका कोही कसैले राहत नपाएकाले विरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाईएको कैलाश रामले जानकारी दिए । ‘हाम्रो वडामा विगौं विगहा जमिन भएका अनि लाखौं करोडौं ऋण लगानी गर्नेहरुलाई राहत दिईएको छ’, कैलाश रामले गुनासो गरे, ‘घरमा क्वीन्टलका क्वीन्टल धान हुने परिवारलाई पनि १५ किलो चामल सहितको राहत सामग्री दिएको देख्दा त राहत कसका लागि आएको हो भन्ने प्रश्नले हाँमी अचम्म परेका छौं ।’

चक्रघट्टा गाउँपालिका–५ का वडाध्यक्ष नागेन्द्रप्रसाद साहले गाउँ कार्यपालिकाको निर्णय अनुसार वडा भित्रका चमार टोला सहित ४७६ परिवारलाई राहत सामग्री वितरण गरिएको तर १५ किलोमात्र नलिने भन्दै चमार टोलाका बासिन्दाले विरोध गरेको बताए । ‘३० किलो चामल नभए हाँमी लिदैनौं भन्दै उहाँहरुले विराध गर्नु भएको हो’, वडाध्यक्ष साह भन्छन्, ‘राहत बाँडनुपर्ने परिवार संख्या निकै बढि भएपछि परिमाण घटाईएको र कमी भएको भन्दै चमार टोलाबाट विरोध भएको छ ।’ दुई–तीन विगहासम्म जमिन भएकाहरुले पनि राहत पाएको वडाध्यक्ष साह स्वीकार्छन् ।

‘लकडाउन लम्बिदै गएकाले २–३ विगहा सम्म जमिन भएका परिवारलाई समेत अप्mठयारो पर्ने भएको हुँदा राहत दिईएको हो’, उनले भने, ‘५ कठ्ठा सम्मका लागि दिँदा १० कठ्ठावालाले मैले किन नपाउने भन्ने अनि उसलाई दिँदा १ विगहाबालाले मैले किन नपाउने भन्दै झगडा गर्ने गरेकाले २ विगहासम्म जमिन भएकालाई विपन्नै मानेर राहत सामग्री दिन बाध्य भईएको छ ।’ वडाध्यक्ष साहका अनुसार बढीमा ५५० घरधुरी रहेको उक्त वडामा ४७६ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

यो पनि पढ्नोस्

सर्लाहीका जमिन्दारलाई विपन्नको राहत दिँदै स्थानीय तह

यता चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम रायले भने राहत वितरण प्रकृयाको लगत संकलन देखि वितरण सम्म सबै कामको नेतृत्व वडाध्यक्षहरुले नै गर्ने भएकाले आफूलाई केही थाहा नहुने बताउँदै आएका छन् । चमार टोलका बासिन्दाले केही दिनअघि गाउँपालिका कार्यालयमा समेत दिनभर धर्ना दिएका थिए । वडा कार्यालयले दिएको १५ किलो चामल फिर्ता गर्दै गाउँपालिका कार्यालयमा धर्ना दिईएको रामले बताए ।

यो पनि पढ्नोस्

सर्लाहीमा राहत वितरण भद्रगोल : कतै सूरु नै भएन त कतै दोस्रो चरणको तयारी

प्रजिअ जिसीले चक्रघट्टा गाउँपालिका वडा नं. ५ का बासिन्दाले सोमबार दिउँसो ज्ञापन पत्र बुझाएको जानकारी दिए । आफूहरुले राहत नपाएको र धनीहरुलाई वितरण गरिएको भन्दै ज्ञापन पत्र बझाएको उनले बताए ।