सर्लाही चन्द्रनगर गापाको क्वारेन्टाइनमा रहेका ४८ जनालाई घर पठाइयो

6

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, स्थित कामत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका ४८ जनालाई आज (मंगबार) घर पठाइएको छ ।

दुई देशको कडा लकडाउन छिचोल्दै भारतको कानपुरबाट लुकिछिपी आफ्नो घर आएका ४८ जनालाई गाउँपालिका कार्यालयले क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाईना बसेको १४ दिन पूरा भएको तथा सबैको स्वाबको पीसीआर रिपोर्ट समेत नेगेटिभ आएकाले केही खाद्यान्न समेत दिएर एकैसाथ घर पठाइएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए ।

सोही क्वारेन्टाईनमा रहेका तर १४ दिन पूरा नभएका दुई जनालाई भने चन्द्रनगर गाउँपालिकाकै वडा नं.२, बबरगञ्जमा रहेको दुर्गा खोभारी जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा सारिएको छ । उक्त क्वारेन्टाइनमा केही दिनअघि भारतबाट आएका २५ जनालाई राखिएको छ । भारतीय सुरक्षाकर्मीले आफ्नो क्वारेन्टाईनमा राखेका १२३ जना नेपालीलाई कनौली नाका स्थित लखन्देही खोला नजिक सिमा क्षेत्रमा ल्याएर छाडेका मध्ये लुकेर गाउँ आउन सफलहरुलाई दुर्गा खोभारीको क्वारेन्टाईनमा राखिएको हो । ९१ जनालाई भने पुनः भारतीय पक्षसँग समन्वय गरेर उतै फर्काईएको थियो । कामतबाट थप दुई जना ल्याइएपछि बबरगञ्जको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २७ पुगेको छ ।

उनीहरुको समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाले १४ दिन राखेर क्रमैसँग घर पठाइने गाउँपालिका अध्यक्ष महतोले बताएका छन् । जिल्लाको हरिपुर नगरपालिकाले पनि हिजो (सोमबार) मात्रै क्वारेन्टाइनमा १४ दिन बसेका दुई जनालाई घर पठाएको थियो ।

लकडाउन भएपनि भारतको विभिन्न स्थानमा मजदुरी गर्न गएकाहरु लुकिछिपी घर फर्किएपछि चन्द्रनगर गाउँपालिकाले ७५ जना, ईश्वरपुर नगरपालिकाले १५ जना तथा हरिपुर नगरपालिकाले २ जना र चक्रघट्टा र धनकौल गाउँपालिकाले समेत गरी जिल्लाभर ९० जना हाराहारीलाई क्वारेन्टाईनमा राखिएको छ ।

जिल्लाकै धनकौल गाउँपालिकाले क्वारेन्टाईनमा राखेका एक किशोरलाई जनकपुर स्थित प्रादेशिक अस्पतालको पीसीआरबाट नेगेटिभ देखिएपछि क्वारेन्टाईनबाट घर पठाएको भोलिपल्ट पुनः टेकु अस्पतालबाट पोजेटिभ रिपोर्ट आएको थियो । हाल ती किशोरको वीरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

यो पनि पढ्नोस्

घर फिर्ता गरिएका किशोरमा टेकुको रिपोर्ट पोजेटिभ आएपछि सर्लाहीबासी त्रसित