बागमतीद्वारा ५ सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

11
मंगलबार सर्लाही सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल परिसरमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै संस्थाका कार्यक्रम व्यवस्थापक साह (हरियो ज्याकेट लगाएका) । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – बागमती सेवा समाज नेपाल नामक एक गैर सरकारी संस्थाले पाँचवटा जिल्लाका सरकारी अस्पताललाई मंगलबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सर्लाही, बारा, रौतहट, महोत्तरी र सिराहा जिल्लाका सदरमुकाम स्थित जिल्ला अस्पताललाई फिवर क्लिनिक सञ्चालनका लागि इन्फ्रारेड थर्मोमिटर तथा टेण्ट सहयोग स्वरुप प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सेभ द चिल्ड्रेनसँगको सहकार्यमा जिल्ला अस्पतालहरुलाई ती सामग्री प्रदान गरिएको हो । पाँचवटै जिल्ला अस्पतालमा संस्थाका प्रतिनिधि गएर मंगलबार सामग्री हस्तान्तरण गरिसकिएको भण्डारीले बताए ।

कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलन सक्ने अवस्थामा हरेक जिल्ला अस्पतालमा विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसार एक छुट्टै फिवर क्लिनक सञ्चालन गर्नका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । सर्लाही सदरमुकाम मलंगवामा संस्थाका कार्यक्रम व्यवस्थापक गजेन्द्र साह तथा सेभ द चिल्ड्रेनका प्रतिनिधिले मंगलबार दिउँसो जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी मार्फत सामग्री हस्तान्तरण गरेका थिए ।

संस्थाले यसअघि पनि वल्र्ड भिजन लगायत अन्तर्राष्ट्रिय गैर सरकारी संस्था लगायतसँगको सहकार्यमा कोशी अञ्चल अस्पताल विराटनगर लगायत विभिन्न स्वास्थ्य संस्था सहित कोरोना भाईरस संक्रमण विरुद्ध क्रियाशिल विभिन्न सरकारी निकायलाई आवश्यक उपकरण सहितको स्वास्थ्य सामग्री प्रदान गरिएको जनाएको छ ।