सर्लाहीबाट संकलित सबै ११५ जनाको स्वाब परीक्षण नेगेटिभ

3
शुक्रबार दिउँसो सर्लाहीको धनकौलमा कोरोना बुथ भित्र बसेका स्वास्थ्यकर्मीलाई स्वाब संकलन गराउँदै एक स्थानीय तथा चौरमा रहेका अन्य सर्वसाधारण । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिकामा कोरोना भाईरस (कोभिड–१९) संक्रमित किशोरका परिवार सहित ११५ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार धनकौल, गाउँपालिका, चन्द्रनगर गाएँपालिका र ईश्वरपुर नगरपालिकाको क्वारेन्टाईनमा राखिएका ११५ जनाको स्वाबको पीसीआर नेगेटिभ आएको हो । ‘कोरोना भाईरसबाट संक्रमित भएका १४ वर्षीय किशोरका परिवारका ५ जना सदस्य सहित उनले नजिकबाट सम्पर्क गरिएको अनुमानमा धनकौल गाउँपालिकाबाट स्वाब संकलन गरिएका २६ जना सहित सर्लाहीबाट संकलन गरिएको ११५ जनाकै स्वाबको रिपोर्ट नेगेटिभ आयो’, प्रजिअ जिसीले उज्यालो अभियानसँग खुशी प्रकट गर्दै भने, ‘कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवार सहित संकलित सबैको स्वाबको रिपोर्ट नेगेटिभ आएकाले जिल्लाबासीले निकै राहत महसुस गरेका छन् ।’ सबैको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु अस्पतालमा पठाईएको थियो ।

गत वैशाख ५ गते शुक्रबार आरडीटी पोजेटिभ देखिएपछि ती किशोरलाई धनकौलको क्वारेन्टाईनबाट थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको थियो । उनी र उनीसँगै क्वारेन्टाईनमा बसेका अर्का एकजनालाई सँगै जनकपुर पठाएर दुईपटकसम्म गरीएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि दुवैजनालाई वैशाख ७ गते आईतबार पुनः धनकौल गाउँपालिकाकै क्वारेन्टाईनमा फर्काईएको प्रअिज जिसीले जानकारी दिए ।

‘‘प्रादेशिक अस्पताल जनकपुरबाट दुईवटा रिपोर्ट नै नेगेटिभ आएपछि बुधबार १४ दिन पुगेकाले ती किशोरलाई गत बुधबार क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा पठाईएको थियो’, प्रजिअ जिसीले भने, ‘अनि विहिबार त काठमाडौंको टेक अस्पतालबाट पोजेटिभ रिपोर्ट देखियो भन्दै पो खबर आयो, खबर आउने वितिकै तत्काल सुरक्षानिकाय पठाएर किशोरको घर परिवारलाई नियन्त्रणमा राखिहाल्यौं ।’

यो पनि पढ्नोस्

प्रजिअ जिसी नेतृत्वको टोली विहिबार दिउँसै धनकौल पुगेर ती किशोर एवं परिवारका सदस्यलाई सोधपुछ गरेको थियो । ‘धन्न ठूलो एरियामा अन्य सर्वसाधारणसँग भेटघाट गर्न भ्याईसकेका रहेनछन्’, प्रजिअ जिसीले भने, ‘त्यसैले तत्काल हरकठवा गोठ गाउँलाई सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा राख्यौं र उनका परिवार सहित किशोरले भेटघाट गरेका हुन सक्ने स्थानीयको स्वाब पनि संकलन गरेर परीक्षणका लागि पठाएका थियौं, धन्न सबैको रिपोर्ट नेगेटिभ आएको छ।’

किशोरलाई भने विहिबार साँझ नै वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको आईसोलेसनमा पठाईएको छ । भारतको दिल्ली स्थित झोला उद्योगमा काम गर्ने ती किशोर गत चैत २३ गते रौतहटको गौर छिरेका थिए । गौरबाट स्थानीय एकजनाको साईकलमा चढेर आउँदै गर्दा बाटैमा नियन्त्रणमा लिएर गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको सुरक्षानिकायले दाबी गर्दै आएको छ ।

गत शुक्रबार विश्व स्वास्थ्य संगठन, नेपाली सेना लगायत सुरक्षानिकायका स्वास्थ्यकर्मीहरुको टोलीले दिनभर लगाएर धनकौल सहित जिल्लाका विभिन्न स्थानबाट ११६ जना सर्वसाधारणको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं लगेको थियो । प्रजिअ जिसीका अनुसार धनकौलबाट २६ जना सहित चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाईनमा राखिएका ७५ जना तथा ईश्वरपुर नगरपालिकाको क्वारेन्टाईनमा राखिएका १५ जनाको स्वाब सो टोलीले संकलन गरेर लगेको थियो । तथापी एकजनाको स्वाब भने परीक्षणका क्रममा नभेटिएको पत्र अस्पतालबाट आएको प्रजिअ जिसीले जानकारी दिए । ‘अस्पतालबाट एकजनाको स्वाब फेला नपरेको र ११५ जनाको रिपोर्ट नेगेटिभ भन्ने पत्र आएको छ’, प्रजिअ जिसीले भने, ‘परीक्षण भएका सबै स्वाबको नेगेटिभ रिपोर्ट आएको छ ।’

गत विहिबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजेटिभ देखिएका ईश्वरपुर नगरपालिका–९ रामनगरका एकजनाको पनि प्रादेशिक अस्पताल जनकपुरबाट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाईएको छ । उनको स्वाबको रिपोर्ट पनि आज (सोमबार) साँझसम्म आईपुग्ने प्रजिअ जिसीले जानकारी दिए ।