लकडाउनको चपेटामा परेको वृद्धा आश्रममा प्रतिनिधि सभाका सांसद साहले गरे खाद्यान्न सहयोग

10

लालबन्दी – लकडाउनपछि अहिले सर्लाहीका बाल गृह तथा वृद्धा सेवाश्रम सञ्चालन गर्न निकै मुस्किल परिरहेको छ । अरु बेला प्रशस्तै मनकारी व्यक्तिहरु सहयोग गर्न आएपनि अहिले लकडाउनले गर्दा उनीहरु आउन पाएका छैनन् । जस्ले गर्दा आश्रम र बाल गृह सञ्चालन गर्न अप्ठेरो परिरहेको हो ।
यही अवस्थामा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद प्रमोद साहले लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा खाद्यान्न सहयोग गरेका छन् । उनले व्यक्तिगत खर्चमा सोमवार जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीमार्फत आश्रमलाई झण्डै एक महिनालाई पुग्ने ४ सय किलो चामल र ४० किलो दाल उपलब्ध गराएका हुन् ।
अहिलेको महाविपतिको अवस्थामा आश्रमलाई सहयोग गरेर ठूलो गुण लगाएको भन्दै आश्रमका संरक्षक बासुदेव शरण कोइरालाले सांसद साहप्रति कृतज्ञता व्यक्त गरे ।