बरहथवा नगरपालिकाले पत्रकारलाई दियो प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामग्री

नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष बरहथवा निवासी कृष्णकुमार एस्मालीलाई सहयोग सामग्री प्रदान गर्दै बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, प्रमुख प्रशासकीय अधिकृत लगायत ।

घनश्याम बलम्पाकी/बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकाले नगरभित्र क्रियाशील पत्रकारहरुलाई सोमवार प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

बरहथवामा क्रियाशील १० जना पत्रकारलाई प्रेस ज्याकेट, स्यानिटाइजर, ग्लोब्स र सर्जिकल मास्क प्रदान गरिएको हो । नगरप्रमुख देवानन्द महतोले नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व जिल्ला सभापति कृष्ण एस्मालीलाई सो सामग्री हस्तान्तरण गरे । केही दिनअघि नगरका क्रियाशील पत्रकारसँग कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका सम्वन्धमा छलफल गर्दै नगरप्रमुख महतोले महामारीको समयमा जोखिम मोलेर रिपोर्टिङ गर्न क्रियाशील रहेका नगरभित्रका पत्रकारहरुलाई पनि सुरक्षाका सामग्री प्रदान गर्ने बताएका थिए ।

सो प्रतिवद्धता अनुसार सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख महतोले पत्रकारहरुलाई अहिलेको महामारी विरुद्धको अभियानमा निरन्तर सहयोग गर्न आग्रह समेत गरे ।