सर्लाहीका कोरोना संक्रमित किशोरका परिवार सहित २६ जनाको रिपोर्ट नेगेटिभ

शुक्रबार दिउँसो सर्लाहीको धनकौलमा कोरोना बुथ भित्र बसेका स्वास्थ्यकर्मीलाई स्वाब संकलन गराउँदै एक स्थानीय तथा चौरमा रहेका अन्य सर्वसाधारण । (तस्बिर : उज्यालो अभियान)

अझै ९० जनाको रिपोर्ट आउन बाँकी

मलंगवा – सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिकामा कोरोना भाईरस (कोभिड–१९) संक्रमित किशोरका परिवार सहित २६ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार धनकौलबाट संकलन गरिएका सबै २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । ‘कोरोना भाईरसबाट संक्रमित भएका १४ वर्षीय किशोरका परिवारका ५ जना सदस्य सहित उनले नजिकबाट सम्पर्क गरिएको अनुमानमा धनकौल गाउँपालिकाबाट स्वाब संकलन गरिएका २६ जनाकै रिपोर्ट नेगेटिभ देखिएको भन्ने लिखित पत्र टेकु अस्पतालबाट आएको छ’, प्रजिअ जिसीले उज्यालो अभियानसँग खुशी प्रकट गर्दै भने, ‘सर्लाहीको अत्यन्त जोखिम ठानिएको ठाउँबाट संकलन भएको स्वाब नेगेटिभ देखिनुले हाँमीलाई खुसी तुल्याएको छ ।’

धनकौल गाउँपालिका–५ हरकठवा गोठ गाउँका १४ वर्षीय एक किशोरको स्वाबको काठमाडौंको टेकु अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाईरस पोजेटिभ आएको थियो । गत वैशाख ५ गते शुक्रबार आरडीटी पोजेटिभ देखिएपछि ती किशोरलाई धनकौलको क्वारेन्टाईनबाट थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको थियो । उनी र उनीसँगै क्वारेन्टाईनमा बसेका अर्का एकजनालाई सँगै जनकपुर पठाएर दुईपटकसम्म गरीएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि दुवैजनालाई आईतबार पुनः धनकौल गाउँपालिकाकै क्वारेन्टाईनमा फर्काईएको प्रअिज जिसीले जानकारी दिए ।

‘प्रादेशिक अस्पताल जनकपुरबाट दुईवटा रिपोर्ट नै नेगेटिभ आएपछि बुधबार १४ दिन पुगेकाले ती किशोरलाई क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा पठाईएको थियो’, प्रजिअ जिसीले भने, ‘अनि विहिबार त काठमाडौंको टेक अस्पतालबाट पोजेटिभ रिपोर्ट देखियो भन्दै पो खबर आयो, खबर आउने वितिकै तत्काल सुरक्षानिकाय पठाएर किशोरको घर परिवारलाई नियन्त्रणमा राखिहाल्यौं ।’

प्रजिअ जिसी नेतृत्वको टोली विहिबार दिउँसै धनकौल पुगेर ती किशोर एवं परिवारका सदस्यलाई सोधपुछ गरेको थियो । ‘धन्न ठूलो एरियामा अन्य सर्वसाधारणसँग भेटघाट गर्न भ्याईसकेका रहेनछन्’, प्रजिअ जिसीले भने, ‘त्यसैले अहिले हरकठवा गोठ गाउँलाई सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा राखेका छौ ।’

किशोरलाई भने विहिबार साँझ नै वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको आईसोलेसनमा पठाईएको छ । परिवारका ५ जना सदस्यलाई तत्कालै गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको प्रजिअ जिसीले जानकारी दिए ।

भारतको दिल्ली स्थित झोला उद्योगमा काम गर्ने ती किशोर गत चैत २३ गते रौतहटको गौर छिरेका थिए । गौरबाट स्थानीय एकजनाको साईकलमा चढेर आउँदै गर्दा बाटैमा नियन्त्रणमा लिएर गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको सुरक्षानिकायले दाबी गर्दै आएको छ ।

गत शुक्रबार विश्व स्वास्थ्य संगठन, नेपाली सेना लगायत सुरक्षानिकायका स्वास्थ्यकर्मीहरुको टोलीले दिनभर लगाएर धनकौल सहित जिल्लाका विभिन्न स्थानबाट ११६ जना सर्वसाधारणको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं लगेको थियो । प्रजिअ जिसीका अनुसार धनकौल गाउँपालिकामा कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवार एवं उक्त गाउँका स्थानीय सहित जिल्लाको विभिन्न स्थानमा पालिकाहरुले क्वारेन्टाईनमा राखेका सर्वसाधारणहरुको स्वाब संकलन गरिएको हो । कोरोना भाईरस पोजेटिभ देखिएका किशोरका परिवारका सदस्य एवं ती किशोरसँग नजिकबाट सम्पर्क भएको आशंका गरिएका सर्वसाधारणहरु तथा लकडाउन छिचोल्दै भारतबाट छिर्न सफल विभिन्न पालिकाहरुको क्वारेन्टाईनमा बसेका सर्वसाधारणको स्वाब संकलन गरिएको प्रजिअ जिसीले जानकारी दिए ।

धनकौल बाहेक चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाईनमा राखिएका ७५ जना तथा ईश्वरपुर नगरपालिकाको क्वारेन्टाईनमा राखिएका १५ जनाको स्वाब सो टोलीले संकलन गरेर लगेको छ । चन्द्रनगर र ईश्वरपुरको क्वारेन्टाईनमा राखिएकाहरुको स्वाबको रिपोर्ट भने नआईसकेको प्रजिअ जिसीले जानकारी दिए ।

यो सहित सर्लाहीबाट ११८ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि संकलन भईसकेको छ । यसअघि नै धनकौलका कोरोना संक्रमित १४ वर्षीय किशोर तथा गत विहिबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजेटिभ देखिएका ईश्वरपुर नगरपालिका–९ रामनगरका एकजनाको पनि प्रादेशिक अस्पताल जनकपुरबाट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाईएको छ ।