रेडक्रसले दियाे लालबन्दीका हावाहुरी र असिनापानी प्रभावित परिवारलाई राहत

लालबन्दी – नेपाल रेडक्रस सोसाइटी शाखा सर्लाहीले लालबन्दीको उत्तरी भेगका हावाहुरी तथा असिनापानी पीडित परिवारलाई राहत वितरण गरेको छ ।

शनिबार लालबन्दी नगरपालिका-१२, पत्थरकाेटका अति प्रभावित ७ परिवारका लागि कम्बल, त्रिपाल, बाल्टिन, कपडा लगायत राहत सामग्री प्रदान गरिएको नेपाल रेडक्रस साेसाईटी लालबन्दी उपशाखाका सभापति ध्रुबप्रसाद घिमिरेले जानकारी दिए । लालबन्दी-१२ का वडाध्यक्ष दुर्गाबहादुर आलेलाई राहत सामग्री उपलब्ध गराइएको र अालेले नै वडा भित्रका अति प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्ने रेडक्रसले जनाएको छ । रेडक्रसकाे जिल्ला शाखा मलंगवाले लालबन्दी उपशाखालाई प्रभावितमध्ये अति नै समस्यामा परेका ७० परिवारका लागि शनिबार राहत सामग्री पठाएको जिल्ला उपसभापति भवानी काेइरालाले जानकारी दिईन् । लालबन्दी उपशाखा सभापति घिमिरेका अनुसार बाँकी रहेको राहत सामग्री हाल कार्यालयमै राखिएकाे र वडाहरुले प्रभावितको नामावली दिने बित्तिकै वितरण गरिने छ । शुक्रवार मध्यान्ह भीषण हावाहुरी सहित असिनापानी पर्दा लालबन्दी र ईश्वरपुर नगरपालिकाको चुरे भेगमा ठूलो क्षति गरेको थियो ।

त्यस्तै शनिबार नै जियाजोर साना किसान कृषि सहकारी संस्थाले लालबन्दी नगरपालिका–१२, का ५० परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ । संस्थाका अध्यक्ष मानविर माझी लागयतले प्रभावित परिवालाई राहत वितरण गरेकाे बताईएकाे छ ।

फाेटाे क्याप्सन : पीडित परिवारका लागि रेडक्रसबाट आएकाे राहत सामग्री । (तस्बिर : उज्यालाे अभियान)