भाेरले दियाे हरिपूर्वाका अति विपन्न दलित परिवारलाई राहत

फाेटाे क्याप्सन : प्रभावित परिवारलाई राहत सामग्री प्रदान गरिदै ।

हरिपूर्वा – नगरपालिकाले अहिलेसम्म राहत बाँड्न नसकेको अवस्थामा सर्लाहीको दक्षिण–पूर्वी भेगको हरिपूर्वा नगरपालिकामा एक गैर सरकारी संस्थाले राहत वितरण गरेको छ । 

लकडाउनका कारण हातमुख जाेड्न समस्यामा परेका हरिपूर्वा नगरपालिका-८ स्थित अति विपन्न एवं दलित परिवारलाई भोर नामक संस्थाले राहत सामग्री प्रदान गरेकाे हाे । वडाध्यक्ष वीरेन्द्रप्रसाद यादवकाे राेहवरमा अति प्रभावित ३५ परिवारलाई शनिबार राहत सामग्री प्रदान गरिएकाे भाेरका अध्यक्ष पाँचु माझी मुसहरले जानकारी दिए । भाेरका संस्थापक अध्यक्ष राजकुमार महताेका अनुसार प्रति परिवार १० किलो चामल, २ किलो दाल, २ किलो आलु, एक किलो प्याज, आधा लिटर खानेतेल र एक प्याकेट नुन प्रदान गरिएको छ । 

जनप्रतिनिधिबीच कुरा नमिल्दा हरिपूर्वा नगरपालिकाले अहिलेसम्म राहत वितरण गर्न सकेको छैन् । जिल्लाको दक्षिणी भेगका अन्य केही स्थानीय तहको अवस्था पनि यस्तै छ । जनप्रतिनिधिबीचको विवादले मजदुर, विपन्न परिवार राहत पाउनबाट बञ्चित भइरहेका छन् । वास्तविक प्रभावितलाई भन्दा पनि दलका कार्यकर्ताको नाम बढी आउँदा राहत बाँड्ने विषयमा जनप्रतिनिधि बीच नै झगडा भइरहेको छ ।