सर्लाहीमा मजदुर र गरिब परिवारको अवस्था दयनीय

11
लालबन्दी नगरपालिकामा वितरणका लागि केही दिनअघि राहत सामग्री तयार पारिँदै । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – एक दिन काम नगरे चुल्हो नै नबल्ने सर्लाहीका मजदुर तथा गरिब परिवारको दैनिकी महिना दिन भन्दा बढीको लकडाउनले दयनीय बनेको छ ।

राहतमा पाएको खाद्यान्न दुई/चार दिन खाँदै सकिएपछि धेरै परिवार भोकभोकै बस्न बाध्य भएका छन् । अझ कतिपय स्थानीय तहमा त नागरिकता नभएका परिवारले वडा कार्यालयबाट दिईने राहत समेत पाउन सकेका छैनन् । कतिपय परिवारले भने गाउँघरमै चर्को ब्याजमा कर्जा लिएर खाद्यान्न किनेर दैनिकी गुजारी रहेका छन् । विशेष गरी ठेला चलाउने, ढुंगा गिट्टी कुट्ने, भारी बोक्ने र विभिन्न संघसंस्था तथा कार्यालयमा काम सहयोगीको काम गर्ने व्यक्तिका परिवार लकडाउनको मारमा परेका हुन् ।

स्थानीय पालिका र प्रदेश सरकारले राहतका सम्वन्धमा विभिन्न निर्णयहरु गरेपनि दिनभरी काम गरेर पेट पाल्ने परिवारहरु भने भोकै बस्नु परेको गुनासो बढेको हो । सदरमुकाम मलंगवा निवासी नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जिल्लाका मजदुर, पिछडिएको दलित र गरिब परिवारको अवस्था अहिले दयनीय अवस्थामा पुगेको जानकारी दिए । यस्तो अवस्था आउँदा समेत घरआगनकै स्थानीय सरकारले केही गर्न नसकेको चौधरीको भनाई छ । यही मौकामा धेरै साहुमहाजनले चर्को ब्याजमा ऋण प्रवाह गरेर निमुखाहरु माथि शोषण गर्न थालेका चौधरीले बताए। अरु बेला कुनै एक दिन काम नगर्दा साँझको छाक टार्न मुस्किल पर्ने परिवार लकडाउनले गर्दा यत्रो दिन सम्म कसरी बाचिरहेका छन् ? भन्ने बारेमा कसैले नसोचेको भन्दै नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।