काठमाडौंबाट सर्लाहीबासीलाई बसमा ल्याउन स्थानीय प्रशासनद्वारा रोक

मलंगवा – सर्लाहीका विभिन्न स्थानीय तहले काठमाडौंबाट बसमा सर्वसाधारण ओसार्न थालेपछि स्थानीय प्रशासनले रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले लकडाउनको उल्लंघन हुनेगरी काठमाडौंबाट बसका बस यात्रु ओसार्न थालिएपछि रोक लगाईएको जानकारी दिए । ‘लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, तर पालिकाहरुले बसका बस मान्छे ओसारेपछि लकडाउनको के अर्थ रह्यो र ?’, प्रजिअ जिसीले उज्यालो अभियानसँग भने, ‘यदि ल्याउने नै भए आएका सबै सर्वसाधारणको पूर्ण विवरण संकलन गर्नुपर्ने तथा पालिकाहरुले नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको क्वारेन्टाईनमा कम्तिमा १४ दिनसम्म खाने, नियमित स्वास्थ्य परीक्षण गर्ने लगायत व्यवस्था सहित राख्नुपर्ने हुन्छ ।’ यसरी हुलका हुल मान्छे बसमा ओसार्दा कोरोना भाईरस संक्रमणको उच्च जोखिम हुने भएकाले रोक लगाईएको प्रजिअ जिसीले जानकारी दिए ।

यसअघि हरिवन नगरपालिका लगायत जिल्ला स्थित विभिन्न पालिकाहरुले यतैबाट बस पठाएर काठमाडौंका सर्वसाधारणलाई जिल्ला भित्र्याईरहेका थिए । हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले स्थानीय प्रशासनबाट काठमाडौंमा बसेका सर्वसाधारण बसमा ओसार्न रोक लगाईएको जानकारी आएको बताए । ‘स्थानीय प्रशासनबाट जानकारी आएपछि आज काठमाडौं पठाउन लागिएको ५ वटा बस रोकेका छौं’, मेयर प्रसाईंले शुक्रबार उज्यालो अभियानसँग भने, ‘आएका सबैलाई खाना, स्वास्थ्य परीक्षण सहित कम्तिमा १४ दिन क्वारेन्टाईनमा राख्न गाह्रो हुने भएकाले अब काठमाडौंबाट ल्याउने काम रोकेका छौं ।’

शुक्रबार हरिवन, बागमती, लालबन्दी लगायत नगरपालिकाले आफ्नो पालिका भित्रका सर्वसाधारणलाई लिन काठमाडौं बस पठाउने तयारी गरेका थिए । यसअघि १५० जना भन्दा बढी सर्वसाधारणलाई बसबाट ल्याईसकिएको हरिवन नगरपालिकाले जनाएको छ ।