घर फिर्ता गरिएका किशोरमा टेकुको रिपोर्ट पोजेटिभ आएपछि सर्लाहीबासी त्रसित

३ वटा वडा ‘सील’ गर्न प्रदेश सांसदको माग

धनकौल – ¥यापीड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजेटिभ देखिए पनि जनकपुर स्थित प्रादेशिक अस्पतालमा दुईपटक गरिएको पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि घर फिर्ता गरिएका सर्लाही धनकौलका एक किशोरको काठमाडौं स्थित टेकु अस्पतालबाट पोजेटिभ रिपोर्ट आएपछि जिल्लामा सन्त्रास छाएको छ ।

सर्लाही धनकौल गाउँपालिकाका–५ हरकठवा गोठ टोलका १४ वर्षीय किशोरको काठमाडौं स्थित टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना भाईरस पोजेटिभ देखिएको हो । आज (विहिबार) बिहान ती किशोरको स्वाब परीक्षण रिपोर्ट कोरोना भाईरस पोजेटिभ भएको खबर आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

गत शुक्रबार आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि ति किशोरलाई स्वाब परीक्षणका लागि सोही साँझ जनकपुर स्थित प्रादेशिक अस्पतालमा पठाईएको थियो । धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा सँगै रहेका अर्का एकजनालाई आरडीटी नेगेटिभ देखिएपनि दुवैजनालाई थप परीक्षणका लागि जनकपुर पठाईएको थियो ।

आईतबार ती किशोरसँगै दुवैजनाको रिपोर्ट नेगेटिभ आएपनि विहिबार भने काठमााडौंको टेकु अस्पतालबाट किशोरको पोजेटिभ रिपोर्ट भन्ने खबर आएको प्रमुख प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । ‘जनकपुरमा पीसीआर परिक्षण गर्दा नेगेटिभ देखिएका किशोरको आज काठमाडौंबाट पोजेटिभ भनेर चिकित्सकले खबर गरेका छन्’, प्रजिअ जिसीले विहिबार राती उज्यालो अभियानसँग भने, ‘जनकपुरमा नेगेटिभ भनिएको रिपोर्ट काठमाडौंबाट ४ दिनपछि पुनः पोजेटिभ भनेर आउँदा अचम्मित भएका छौं ।’ जनकपुरको प्रादेशिक अस्पतालमा नेगेटिभ रिपोर्ट आएपनि ती किशोर सहित दुवैजनाको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाईएको थियो । उक्त रिपोर्ट विहिबार आएको हो ।

जनकपुरमा दुवैजनाको स्वाब दुईपटक सम्म पीसीआर परिक्षण गराउँदा नेगेटिभ देखिएपनि टेकु अस्पतालबाट भने विहिबार पोजेटिभ भन्ने खबर आएको धनकौल निवासी प्रदेश सांसद् विरेन्द्र प्रसाद सिंहले जानकारी दिए । जनकपुरमा पीसीआर परीक्षण नेगेटिभ देखिएपछि दुवैजनालाई धनकौल फिर्ता ल्याएर गाउँपालिकाकै क्वारेन्टटाईनमा राखिएको थियो ।

टेकुबाट पोजेटिभ रिपोर्ट देखिएका किशोरलाई बुधबार साँझ मात्र क्वारेन्टाईनबाट घर फिर्ता गरिएको थियो । ‘क्वारेन्टाईनमा राखिएको १४ दिन पुगेको र जनकपुरको पीसीआरमा नेगेटिभ रिपोर्ट आएकाले बुधबार मात्र ती किशोरलाई घर पठाईएको थियो’, प्रजिअ जिसीले भने, ‘तर विहिबार बिहान काठमाडौंबाट उनमा कोरोना भाईरस पोजेटिभ देखिएको भन्दै खबर आयो, तत्काल स्थानीय प्रहरीले उनको घर पुगेर उनी सहित परिवारका सदस्यहरुको ट्राभल हिस्ट्री बुझ्ने काम गरेकाले त्यति धेरै जोखिम देखिएको छैन ।’ उनीसँगै रहेका अर्का एकजनालाई भने १४ दिन नपुगेकाले क्वारेन्टाईनमै राखि राखिएको प्रजिअ जिसीले जानकारी दिए ।

‘धन्न बुधबार साँझ क्वारेन्टाईनबाट घर पठाईएका ती किशोर गाउँघर तिर घुम्न निस्किएका रहेनछन्’, प्रजिअ जिसीले भने, ‘विहिबार बिहानै खबर आएकाले तत्काल प्रहरी पुगेर उनी र उनको परिवारलाई गाउँ घुम्न रोकेको रहेछ ।’ प्रजिअ जिसीले किशोरलाई आज (विहिबार) राती नै उपचारका लागि वीरगंज स्थित नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाईएको तथा परिवारका सम्पूर्ण सदस्यलाई धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा राख्न गाउँपालिका कार्यालयलाई आग्रह गरेर गाउँबाट राती फर्किएको जानकारी दिए ।

धनकौल निवासी प्रदेश सांसद सिंहले भने धनकौल गाउँपालिकाको वडा नं. २, ३ र ५ सहित शंकाष्पद गाउँहरु सिल गर्न माग गरेका छन् । ‘कोरोना भाईरस पोजेटिभ देखिएका किशोर अत्यन्त विपन्न परिवारका भएकाले उनीहरु मजदुरी गरेर जिविका चलाउँदै आएका थिए’, प्रदेश सांसदले उज्यालो अभियानसँग भने, ‘त्यसैले उनीहरु बुधबार देखि विहिबार दिउँसोसम्म काम गर्ने वा अन्य हिसाबले गाउँभर घुमेका हुन सक्छन्, त्यसैले शंकाष्पद् गाउँहरु तत्काल सिल गर्नुपर्ने देखिन्छ ।’

ती किशोर गत चैत २३ गते भारतको दिल्लीबाट आएका थिए । दिल्लीको झोला कारखानामा काम गर्ने उनी रौतहटको गौरबाट नेपाल छिरेर बागमती नदी तर्दै घर आउँदै गरेको सूचना गाउँलेले दिएपछि प्रहरीले बाटैबाट नियन्त्रणमा लिएर गाउँपालिका कार्यालयले स्थापना गरेको क्वारेन्टाईनमा राखेको थियो ।