सर्लाही सशस्त्र प्रहरीद्वारा लकडाउनका बीच बरामद ९५ बोतल लागूऔषध नष्ट

बरामद् लागूऔषधको रुपमा प्रयोग हुने वार्लेक्सका बोतल । (फाईल तस्बिर : उज्यालो अभियान)

कविलासी – सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीले मंगलबार लागूऔषधको रुपमा प्रयोग हुने ९५ बोतल वार्लेक्स नष्ट पारेको छ ।

गण परिसरमा सय मिलिलिटरका ९५ बोतलको बिर्को खोलेर वार्लेक्स नामक औषधीको झोल खाडलमा खन्याईएको हो । सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठ, कविलासी नगरपालिकाका जनप्रतिनिधि, संचारकर्मी लगायतको उपस्थितीमा उक्त लागूऔषध नष्ट पारिएको हो ।

दुई देशको लकडाउनका बीच भारतबाट नेपाल भित्र्याईरहेको अवस्थामा सशस्त्र प्रहरीले गत चैत २९ गते उक्त लागूऔषध बरामद् गरेको थियो । मलंगवा नगरपालिका–१ भेडियाही स्थित भारतीय नाकाबाट नेपालतर्फ गहुँको बोरा भित्र लुकाएर एक युवाले उक्त लागूऔषध भित्र्याउन खोजेका थिए ।

नाकामा खटिएको सशस्त्र प्रहरी नायव निरिक्षक कृष्ण अधिकारी नेतृत्वको टोलीले बोरामा के छ भन्दै सोध्दा गहुँ भनेपनि खै हेरुँ त भन्ने वितिकै ती युवा बोरा फालेर भारततर्फ भागेका थिए । बोरा खोलेर हेर्दा गहुँ भित्र ९५ बोतल वार्लेक्स नामक औषधी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै केही दिनअघि कविलासी नगरपालिका–२ पिपरियामा पनि ईलाका प्रहरी कार्यालय हरिपुुरको टोलीले तरकारीको बोरा भित्र लागूऔषधको रुपमा प्रयोग हुने ४० बोतल कोरेक्स बरामद् गरेको थियो । किसानलाई केही खुकुलो गर्न थालिएपछि कृषकको भेषमा लागूऔषध कारोबारी सकृय भएको प्रहरीको अनुमान छ ।