सर्लाहीको चुरेभेगमा असिना पानी

271

लालबन्दी – सर्लाहीको उत्तरी चुरेभेगमा आज (साेमबार) अपरान्ह केहीबेर असिना पानी परेको छ ।

सिन्धुली जिल्लासँग सीमा जोडिएका सर्लाहीको माथिल्लो भेगमा पर्ने नारायणखोला, परवानीपुर, कालिन्जोर लगायत क्षेत्रमा असिना पानी परेको हो । असिनासहित झण्डै पाँच मिनेटजति पानी परेको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका युवा सुरज तिरुवाले जानकारी दिए । एकैछिन मात्रै परेकाले असिना पानीले खासै क्षति भने नगरेको उनले बताए ।

त्यस्तै सर्लाहीकै विकट क्षेत्र मानिने लालबन्दी नगरपालिका–१४ नारायणखोलामा समेत असिना पानी परेपनि हावाहुरी भने नचलेको त्यहाँका वडा सदस्य दीपसागर दोङले बताएका छन् । जिल्लामा गत शुक्रवार राती पनि हावाहुरीसहित ठूलो पानी परेको थियो । सो हावाहुरीले जिल्लाको पश्चिमी भेगमा पर्ने हजरीया, श्रीपुर, राजघाट, शंकरपुर, मूर्तिया, हजारविगाह क्षेत्रका किसानले लगाएको मकै बालीमा ठूलो क्षति पु¥याएको थियो । यसबेलाको हावाहुरीले चिचिला लाग्दै गरेका आँप र लिचीमा समेत क्षति पु¥याएको किसानले गुनासो गरेका छन् ।

फाेटाे क्याप्सन : स्थानीय बासिन्दाले जम्मा पारेकाे असिना ।